visit-nepal

सिद्धबाबाविरुद्ध सात दिन म्याद थप, अस्पतालमै बयान लिइने

विराटनगर,२० मंसिर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक म्याद थप गरेको छ । गत सोमबार अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको प्रहरीले शुक्रबार सात दिनको म्याद थप गरेको हो ।

उनीविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको हो । हृदयघातका कारण विराट नर्सिङ होममा उपचार गराइरहेका कृष्णदासविरुद्ध गत सोमबार प्रहरीले आइसियूबाटै नियन्त्रणमा लिएर चार दिन म्याद थप गरेको थियो । शुक्रबार पुनः सात दिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा ४ कात्तिकमा आफू बलात्कृत भएको दाबी गर्दै एक महिलाले उजुरी गरेपछि उनी मंसिर १२ गते अस्पताल भर्ना भएका थिए । मंसिर १५ गते उनलाई पक्राउ गर्न प्रहरी अस्पतालसम्म पुगेको थियो ।

तर हृदयघात भइ उनलाई आइसियूमा भर्ना गरेपछि प्रहरीले सोमबार ४ दिन म्याद थप गरेको थियो । अदालतले दोस्रो पटक सात दिनको म्याद दिएको डिएसपी शर्माले जानकारी दिए ।

अस्पतालमै बयान लिने तयारी

घटनाको अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले कृष्ण बहादुरको अस्पतालमै बयान लिने तयारी गरेको छ । स्थलगत अनुसन्धानसँगै सिद्धबाबाका अनुयायीसँग बयान लिएको प्रहरीले कृष्णदासको स्वास्थ्य अवस्थाका कारण अस्पतालमै बयान लिने तयारी गरेको हो ।

‘अदालतले अस्पतालमै बयान लिन आदेश दिएको छ,’ डिएसपी शर्माले भने, ‘उनका अनुयायीसँग बयान लिने काम जारी छ ।’

Loading...