मुटुरोग लाग्नबाट बच्नका लागि अपनाउनु पर्ने सतर्कता

विराटनगर, २० मंसिर । जाडोको मौसम सुरु भएसंगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो मौसममा सबैभन्दा धेरै चिसोले रोग प्रतिरोघत्मक क्षमता कम भएका, बृद्ध तथा बालबालिकाहरूलाई सताउने गर्छ । जाडो मौसम मुटुका रोगीहरुको लागि निकै खतरनाक सावित हुन सक्नुका साथै चिसोसँग बच्न नसक्नेलाई हृदयघातको समेत खतरा हुने विज्ञहरुले बताउदै आएका छन् ।

चिसो हावाले शरीरको गर्मीपनालाई हटाएर रक्तनलीहरू खुम्चिने हुदा मुटुको समस्या भएका मानिसहरूले विशेष सावधानी अपनाउनु पर्छ । जाडो मौसममा बिहानको समयमा शरीरका रक्तनलीहरु संकुचित हुने हुदा हावामा पाइने धुवाँ र यसको खराब गुणले हृदयघातको जोखिमलाई दुई गुणा बढाउन सक्ने एक अध्ययनले साबित गरिसकेको छ ।

वातावरणमा भएको प्रदुषित हावामा पाइने स-साना हानिकारक कण सासको माध्यमले मुटुसम्म पुगेर सास फेर्नमा समस्या र छातीमा संक्रमण पैदा गरि मुटुलाई नोक्सान पुर्याउन सक्छ । जाडो मौसममा खोकी लाग्ने, घाँटी पोल्ने, आँखा पोल्ने, दम, फोक्सोको रोग लगायतको खतरा हुन्छ ।

शरीरमा भिटामिन ‘डी’को कमी, कोलस्ट्रोलको बढ्दो स्तर, रक्तसञ्चारमा गडबडी, उक्तारक्तचाप, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिमलाई बढाउने गर्छ । हृदयघातबाट बच्नको लागि यसले दिने साधारण संकेततर्फ (छाती पोल्ने, बेचैनी हुने, लगातार रक्तचाप उच्च रहने, हात दुखेर छातीसम्म पुग्ने) ध्यान दिनुपर्छ ।

चिसो मौसममा हृदयघातबाट बच्नका लागि शरीरलाई न्यानो बनाउनका लागि न्यानो लुगा लगाउने, बिहानै चिसोमा नहिँड्ने, घाम ताप्ने, तातो पानी तथा पौष्टिक आहारको सेवन गर्ने गर्नु पर्छ । धेरै शारीरिक श्रम नगर्नाले जाडोमा पाचन क्रिया बिग्रेर कोलस्ट्रोल बढ्ने सम्भावना धेरै हुने हुदा जाडोमा हल्का र सन्तुलित भोजन खानुपर्छ ।

जाडो मौसममा चिसो र प्रदुषित हावा सासको माध्यमले शरीरमा जाने खतरा हुने हुदा स्वास्थ्य रहनका लागि गरिने मर्निङ वाक पनि हानिकरक हुन्छ । जाडो मौसममा वृद्ध र बच्चाहरूलाई बिहानै चिसोमा पैदल हिँड्न दिनु हुदैन । जाडोमा घरमै बसेर योगा, ध्यान वा वर्कआउट गर्न सकिन्छ । बाहिर गर्मी महसुस गराए पनि भित्री अंगहरुमा चिसो हुने हुदा चिसोमा धुम्रपान र मदिरापानले हृदयघातको खतरा बढाउन सक्छ ।

Loading...