साग : टेबलटेनिसमा नेपाललाई ऐतिहासिक कास्य पदक

काठमाडौं, २० मंसिर । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत नेपालले ऐतिहासिक कास्य जितेको छ । शुक्रबार लैनचौरस्थित टेबलटेनिस हलमा भएको पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जितेका हुन् ।

सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाएका हुन् । यद्यपि, नेपालका लागि विधामा नेपालले ऐतिहासिक पदक जितेको हो । सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो ।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित भए । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गरे । अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित भए । उनी हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित भए ।

Loading...