रियललाई समस्या : हाजार्डसँगै मार्सेलोले पनि ‘एल क्लासिको’ गुमाउने

एजेन्सी, २० मंसिर । स्पेनिस क्लब रियल मड्रिडलाई ‘एल क्लासिको’ अगाडि खेलाडीको चोटले पिरोलेको छ । यसै डिसेम्बर १६ मा हुन लागेको बार्सिलोनाविरुद्ध खेलअगाडि रियलका २ स्टार खेलाडी चोटले थलिएका छन् ।

स्टार खेलाडी इडेन हाजार्डले ‘एल क्लासिको’ गुमाउने पक्का भएसँगै मार्सेलो पनि चोटले थलिएका हुन् । च्याम्पियन्स लिगअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा घाइते हुन पुगेका हाजार्डले बार्सिलोनासँगको खेल गुमाउने पक्का भइसकेको छ ।

af

रियलले समूह चरणको खेलमा फ्रान्सेली क्लब पीएसजीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । रियलको मैदान बर्नाबेउमा भएको उक्त खेलको ६९औं मिनेटमा हाजार्ड घाइते भएका थिए ।

चोट बोक्दै मैदान छोडेका हाजार्डको स्थानमा ग्यारेथ बेल मैदान प्रवेश गरेका थिए । बेल्यिमका हाजार्डमाथि उनकै सहकर्मी तथा पीएसजीका थोमस मुनियरले फाउल गरेका थिए । यसै सिजन इंग्लिस क्लब चेल्सीबाट रियल आएका हाजार्डको स्थानमा अब ग्यारेथ बेल वा रोड्रिगो खेल्न सक्ने सम्भावना छ । यस्तै मार्सेलोको सट्टामा भने फेर्लान मेन्डी हुन सक्नेछन् ।

बार्सिलोनाविरुद्धको खेल अर्थात् ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदानमा क्याप नोेउमा हुनेछ । यो सिजनको पहिलो एल क्लासिको हो ।

Loading...