रोनाल्डोमाथि इब्राहिमोभिचको व्यंग्य, ‘उनी नक्कली रोनाल्डो हुन्’

एजेन्सी, २० मंसिर । स्वीडेनका फुटबलर जाल्टन इब्राहिमोभिक पछिल्लो समय इटालियन फुटबल क्लब फर्किने चर्चामा छन् । एलए ग्यालेक्सीबाट खेलेका उनले पोुर्चगिज स्टार खेलाडी क्रिस्टियानो माथि व्यंग्य प्रहार गरेका छन् ।

आफ्नो करिअरमा स्पेनिस, फ्रेन्च, इटालियन र इंग्लिस क्लबहरूबाट खेलिसकेका उनले अब सिरी ‘ए’ खेल्ने चर्चा छ । ३८ वर्षीय इब्राहिमोभिचले ‘जीक्यू इटालिया’ नामक मिडियासँगको कुराकानीमा युभेन्टसका स्टार रोनाल्डो नक्कली भएको बताएका छन् । उक्त मिडियाले इब्राहिमोभिचलाई अब रोनाल्डोसँग खेल्ने ? भनेर प्रश्न गरेका थिए । जसमा, उनले रोनाल्डोलाई नक्कली भनेका हुन् ।

‘पक्कै हैन मैले रोनाल्डोको विरुद्ध खेलिसकेको छु, वास्तविक रोनाल्डो नाजारियोसँग र उनी वास्तविक ब्राजिलियन रोनाल्डो हुन्, अरु कोही हैनन् । क्रिस्टियानोसँग प्राकृतिक क्षमता छैन । तर, उनी धेरै कामको फलले रोनाल्डोजस्तै भए ।’

रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ जिताउनु ठूलो कुरा नभएको इब्राहिमोभिचको भनाइ थियो । ‘उनले जब यु्भेन्टसमा हस्ताक्षर गरे, उनले टोलीलाई सिरी ‘ए’ जिताए,’उनले थपे, ‘यो क्लबको लागि कुनै चुनौतीको कुरा थिएन । त्यो युभेन्टसले जित्दै आएको थियो ।’

Loading...