जाडोमा ८० प्रतिशत मानिसमा देखिन्छ छाला सुख्खा हुने समस्या

विराटनगर, २० मंसिर । जाडोको समयमा अधिकांश मानिसहरूलाई छाला खस्रो हुने, छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हातखुट्टा फुट्ने, ओठ फुट्ने हुन्छ । शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि शरीरबाट तापसँगै आँखाले नदेख्ने तरिकाले पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ ।

शरीरमा पानीको कमी भएपछि छाला सुख्खा हुने, फुट्ने, ओठ तथा कुर्कुच्चा फुट्ने जस्ता समस्या देखा पर्छ । जाडोको मौसममा करिब ७० देखि ८० प्रतिशत मानिसहरूलाई छाला सुख्खा हुने समस्याले सताउने गरेको छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बताएका छन् । जाडोको एलर्जी हुने व्यक्तिको, दमको समस्या हुनेहरूको शरीरको सम्पूर्ण छाला सुख्खा हुन्छ । साथै, मधुमेह, उच्च रक्तचाप, थाइरोइड भएमा र शरीरमा विभिन्न किसिमका भिटामिनको कमी भएकाहरूको छाला सुख्खा हुने गर्छ ।

त्यस्तै, छाला रोग विशेषज्ञ डा. सविना भट्टराईका अनुसार जाडो महिनामा धेरै पटक ननुहाउने हुँदा शरीरमा विभिन्न किसिमका एलर्जीहरू पनि देखा पर्नेगर्छ । जाडोमा चिसो भगाउनका लागि घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्छौ । यसरी तातोमा बस्दा छालामा भएको चिल्लोलाई सोसेर छालालाई सुख्खा बनाउँने गर्छ । त्यसैले हिटर ताप्ने, घाममा बस्ने गर्दा शरीरमा पानीको मात्रा पनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ ।

साथै, उलनको कपडाले एलर्जी भएर शरीर चिलाउने र पोल्ने हुदा पनि छाला फुट्ने गर्छ । छाला सुख्खा हुनबाट जोगाउनका लागि प्रसस्त मात्रामा पानी पिएर, घाममा बस्दा वा घरबाहिर निस्कँदा बढी एसपीएफ भएको ‘सन्सक्रिम’ र मोइस्चुराइजरको प्रयोग गर्नु पर्छ । छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न पोषणयुक्त खानपान, ओलिभको तेल, ओखर, एभोकाडोको नियमित प्रयोग गर्नु पनि सकिन्छ ।

Loading...