बिहान मजदूरी, दिउँसो लागूऔषध प्रयोग

विराटनगर, २० मंसिर । सुनसरी खनारका घिमिरे थरका एक व्यक्ति सार्वजनिक बसमा सहचालकको काम गर्छन् । विराटनगर धरान गुड्ने बसको सहचालक उनी कामपछि प्रायः जोगबनी बजार पुग्छन् । लागूऔषध प्रयोगकर्ता उनी मजदूरीबाट कमाएको पैसाले लागूऔषध प्रयोग गरी फर्कन्छन् । केही दिनअघि विराटनगर रानीबाट पक्राउ परेका उनलाई लागूऔषध प्रयोग नगर्न भन्दै प्रहरीले काउन्सिलिङ गर्दा घर फर्कन भन्दै अनेक बहाना खोजिरहेका थिए ।

मोरङ गछियाका कार्की थरका एक व्यक्तिको घरमा ट्याक्टर छ । बेलाबेला ट्याक्टरमा हिँड्ने उनी ट्याक्टर पासका लागि कागज मिलाउन भन्दै इटहरी जाने भन्दै जोगबनी पुगे । जोगबनीमा लागूऔषध प्रयोग गरी फर्कँदैगर्दा नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले उनको अभिभावकलाई सम्पर्क गरे । सुरुमा छोरालाई नछोड्न आग्रह गरिरहेका अभिभावक अन्ततः छोरालाई जिम्मा लिएर सुधारकेन्द्रमा हाल्ने बताए ।

मोरङ विराटचोकका माझी थरका एक व्यक्ति ट्याक्टर चलाउँछन् । मासिक पारिश्रमिक लिएपछि उनी लागूऔषध प्रयोग गर्न जोगबनी पुगेका थिए । धनकुटा डाँडाबजारमा पसल गर्दै आएका मगर थरका एक व्यक्ति घरमा धरान जान्छु भन्दै जोगबनी पुगे । सामान किन्न भन्दै धरान झरेका उनी जोगबनीमा लागूऔषध प्रयोग गरी फर्कँदैगर्दा पक्राउ परे ।

माथिका चार घटना प्रतिनिधी मुलक हुन् । दिनमा ज्याला मजदूरी गरेर साँझमा लागूऔषध प्रयोग गर्न जोगबनी जानेको सख्या बढ्दो छ । ‘लागूऔषध प्रयोग गर्ने रिक्सा चालकदेखि सम्पन्न परिवारका सदस्यसम्म जोगबनी पुग्दा रहेछन्,’ डिएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘जोगबनीमा लागूऔषध प्रयोग गरी फर्किएकाहरूलाई काउन्सिलिङ गरेर परिवारको जिम्मा लगाउछौं ।’

लागूऔषध प्रयोगकर्ताहरू जोगबनी केन्द्रित हुन थालेपछि प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्धको अभियान सञ्चालन गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण गर्न मोरङ प्रहरीले भारतीय सीमानानजिकै विराटनगर–१६ रानीमा क्यान सेन्टर (क्याम्पेन एगेनस्ट नार्कोटिक्स) स्थापना गरेको हो ।

लागूऔषध दुर्व्यसनीलाई समाजमा पुनर्स्थापना गर्ने र ओसारपसार, खरिद–बिक्रीजस्ता अपराधमा युवा जमातलाई जोगाउन क्यान सेन्टरले सहयोग पुर्‍याउने गरेको छ । क्यानको सञ्चालन नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर शाखा, पुनर्स्थापना केन्द्रहरू र महानगरपालिकासँगको सहकार्यमा मोरङ प्रहरीले गरिरहेको छ ।

क्यान सेन्टरमा दैनिक १० देखि १५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीले काउन्सिलिङ गर्दै आफन्तको जिम्मा लगाउँदै आएको छ । सीमा क्षेत्रमा गएर लागूऔषध सेवन गरेर आएका युवाहरूलाई क्यान सेन्टरमा राखेर काउन्सिलिङ गर्दै प्रारम्भिक उपचार पनि गरिने गरिएको छ ।

क्यानमार्फत लागूऔषध अभियानको दोस्रो चरणअनुसार पहिले दुर्व्यसनीलाई काउन्सिलिङ दिने, दोस्रो माध्यम तहका लागि पुनस्र्थापना केन्द्रमा राखिने र तेस्रो गम्भीर तहका दुर्व्यसनीलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गरिन्छ ।बिहान मजदूरी, दिउँसो लागूऔषध प्रयोग

Loading...