बङ्गलादेश महिला क्रिकेटको फाइनलमा

काठमाडौं १९ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी २० ओभरको महिला क्रिकेटमा बंगलादेशी टोली माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको छ ।

प्रतियोगितामा बङ्गलादेशले माल्दिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्याे ।

पोखरा रङ्गशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा दुई विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बङ्गलादेशका दुई खेलाडीले शतक प्रहार गरे । निगार सुल्तानले अविजित १ सय १३ तथा फरगङ्गा हकले अविजित १सय १० रन जोडेकी थिइन् ।

जीतका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको माल्दिभ्सको पारी मात्र ६ रनमा समेटियो । माल्दिभ्सका समा अलीले दुई तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा आएको थियो ।

यसका साथै राउण्ड रोबिनका तीनवटै खेलमा जीत प्राप्त गरेको बङ्गलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई सात विकेटले र दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

नेपाललाई खेल जित्नैपर्ने दबाब

फाइनल पुग्नका लागि अब नेपाललाई श्रीलङ्काविरुद्ध भोलि हुने खेल जित्नै पर्ने भएको छ । राउण्ड रोबिनमा नेपाल र श्रीलङ्का दुवै एक खेलमा जीत र एक खेलमा पराजित भएकाले दुवैको समान २–२ अङ्क रहेको छ ।

नेपाल र श्रीलङ्का दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्ना खातामा समान दुई अङ्क जोडेका हुन् तर, नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ ।

Loading...