visit-nepal

काेशीमा वेवारिसे विरामी : दिलिपका आफन्त आए, पथरीका पुरूषकाे मृत्यु

विराटनगर १९ मंसिर । समयमा नै उपचार नपाएका कारण कोशी अस्पतालमा वेवारिसे अवस्थाका दुई मध्ये एक बिरामीको मृत्यु भएको छ । कोशी अस्पताल अगाडि छटपटाइ रहेका दुई बिरामी मध्ये एक जनाको उपचार अभावमा गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिकाका नागरिक छन् ।

सिकिस्त अवस्थामा रहेका उनलाई स्थानीय प्रहरीले अस्पतालसम्म ल्याएको थियो । मंगलबार अस्पताल आएका उनलाई आफन्त नभएको भन्दै अस्पतालले उपचार नगरेपछि इमरजेन्सी वार्डको निकास नालामाथि वेवारिसे अवस्थामा थिए ।

कोशी अनलाइनमा ‘मन्त्रीज्यू कोशी अस्पताल परिसरमा दुई वेवारिसे बिरामी मृत्युसँग लडिरहेका छन् ’ शीर्षकको समाचार प्रकाशित भएपछि साँझ अस्पतालले दुबै विरामीलाई इमरजेन्सी वार्डमा भर्ना गरेको थियो ।

भर्ना भएका मध्ये पथरीका पुरुषको मृत्यु भएको हो । विराटनगर अशोक चोकका दिलिप मुखियाको भने उपचार भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए । ‘दिलिपका आफन्तलाई अस्पतालमा बोलाएर उपचार सुरु गरेका छौं ।’ उनले भने ‘पथरीबाट आएका विरामीको भने राति मृत्यु भयो ।’

मृत्यु भएका पथरीका पुरुष संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रका नागरिक हुन् । भर्खरै मन्त्री बनेका ढकाल बेसाहरा र पैसा नभएका नेपाली नागरिकको उपचारको जिम्मा सरकारले लिने बताउँदै आएका छन् । तर मंगलबार बिहानदेखि कोशी अस्पताल अगाडी वेवारिसे अवस्थामा बसेका पुरुषको उपचार अभावमा मृत्यु भएको हो ।

सरकारी स्वामित्वमा रहेको विराटनगरको कोशी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई जना बिरामी उपचार नपाएर छटपटाइरहेको समाचार बिहीबार कोशी अनलाइनमा प्रकाशित भएको थियो ।

दुईमध्ये विराटनगरका दीलिप मुखिया मुस्किलले बोल्न सक्ने अवस्थाका थिए । पथरीका पुरुषको भने उपचार नपाएका कारण अवस्था गम्भिर थियो ।

विराटनगरको अशोक चोक घर भएका ४० वर्र्षीय मुखिया सोमबारदेखि अस्पतालको इमरजेन्सी वार्डअगाडि रहेको फलैँचामा लडिरहेका थिए । पथरीका पुरुष भने इमरजेन्सी वार्ड हुँदै बग्ने निकास नालाको स्लावमाथि छटपटाइरहेका थिए । समाचार प्रकाशित भएपछि विराटनगर महानगरपालिकाले उपचारको जिम्मा लिएको थियो । दिलिपको अवस्था भने सामान्य रहेको बताइएको छ ।

यता इलाका प्रहरी कार्यालय पथरीले मृतक नागरिकको पहिचान नुखेलको बताएको छ । इलाका प्रहरी कार्यालय पथरीका इञ्चार्ज डिएसपी लक्ष्मी अधिकारीका अनुसार ती व्याक्ति पथरीमा भेटिएपछि विराटनगर उपचारका लागि पठाए पनि स्थायी ठेगाना र पहिचान नखुलेकाे बताए ।

‘मन्त्रीज्यू, कोशी अस्पताल परिसरमा दुई वेवारिसे बिरामी मृत्युसँग लडिरहेका छन् !’

Loading...