मौरिटानिया नजिकै डुंगा दुर्घटना हुँदा ५८ जना आप्रवासीको मृत्यु

सेनेगल, १९ मङ्सिर । अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको छ ।

गाम्बियाबाट एक साताअघि हिँडेको डुङ्गामा कम्तीमा १ सय ५० जना यात्रु रहेको अनुमान गरिएको छ ।

यो डुङ्गा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटना भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका प्रतिनिधि लाउरा लुंगारोटीले बताए ।

डुङ्गामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएकाहरु एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको उनको भनाई छ । उहाँले कम्तीमा ८३ जना आप्रवासीहरु पौडिएर तटीय इलाकामा निस्कन सफल भएको बताए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

पौडिएर बाँच्न सफल भएकाहरुले आफूहरु गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएका छन् । यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन । हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन् ।

अफ्रिकाको सानो मुलुक गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ ।

गाम्बियामा करिब २२ वर्ष शासन गरेका पूर्व राष्ट्रपति याह्या जम्माहको शासनकालमा मुलुकको अर्थतन्त्र चौपट भएको र युवा बेरोजगारी बढेको थियो । जनवरी २०१७ को चुनावमा पराजित भएपछि याह्या विदेशतर्फ निर्वासित भइसकेका छन् । गाम्बियाको अर्थतन्त्र मुख्य रुपमा पर्यटनमा आश्रित छ ।

युरोप प्रवेशमा कडाई गर्न थालेका युरोपेली मुलुकहरुले गाम्बियाका नागरिकलाई पनि पछिल्लो समय युरोप प्रवेशमा कडाई गरेका छन् । उनीहरुले अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरुकै देश फर्काउन थालेका छन् ।

Loading...