visit-nepal

कष्टकर जीवन बाँचिरहेका बालबालिकाहरूका लागि ‘स्वस्थ्य जीवन’ कार्यक्रम

यज्ञ अधिकारी
रंगेली, १९ मंसिर । आँखा नदेख्ने र कान नसुन्ने अपांगता भएका बालबालिकाहरूको कष्टकर जीवनलाई सहज बनाउने काम मोरङमा सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघको सहयोगमा कोशी बहिरा संघले मोरङमा आँखा नदेख्ने र कान नसुन्नेहरूको कष्टकर जीवनलाई सहज बनाउने ‘स्वस्थ्य जीवन’ कार्यक्रम सुरु गरको हो ।

हाल मोरङका १० जना बालबालिकाको दैनिक जीवन सञ्चालनको लागि ‘स्वस्थ्य जीवन’ कार्यक्रममार्फत सहयोग भइरहेको कार्यक्रम संयोजक प्रशान्त दुलालले जानकारी दिए । संयोजक दुलालका अनुसार कष्टकर जीवनलाई सहज बनाउका लागि कान नसुन्नेसँगै आँखा पनि नदेख्ने श्रवण–दृष्टिविहीन बालबालिकोको खोजी, पहिचान र सिकाइको काम भइरहेको छ ।

खान, हिँडन, उठेर बस्न नजान्ने कुजिँएको अवस्थामा रहेका बालबालिकालाई दैनिक व्यवहार कसरी सहज रूपमा गर्ने भनेर कार्यक्रमले सिकाउने गरेको एजुकेटर (प्रशिक्षक) गोमा कार्कीले बताइन् । एजुकेटर कार्कीका अनुसार कष्टकर जीवन भोगिरहेका बालबालिकाहरूलाई स्पर्श र गन्धको माध्यमबाट नित्यकर्मको तरिकाहरू सिकाउने गरिन्छ । साथै शरीर कुजिँएका बालबालिकालाई थेरापी पनि गराइन्छ ।

कष्टकर जीवन बाँचिरहेका बालबालिकाहरू आफैँ खान सक्दैनन् । यसैले पहिले उनीहरूलाई स्पर्श र गन्धको माध्यमबाट पहिला खान सक्ने बनाइन्छ । त्यसपछि क्रमशः दैनिक व्यवहारका स–साना कुराहरूः ब्रस गर्ने, शौचालय जाने, हातमुख धुने आदि कुरा सिकाउँदै लगिन्छ ।

हाल कोशी बहिरा संघ विराटनगरमा सुन्दरहरैँचा नगरपालिकाबाट ३, बेलबारीबाट १, सुनवर्षी नपाबाट २, विराटनगर महानगरपालिबाट २ र विराट बहिरा माविका २ गरी जम्मा १० जना बालबालिकाहरुले व्यवहार सुधार गराइरहेका छन् ।

गर्भ अवस्थामा रुवेला भाइरस र डाउसिन्ड्रम रोग लागेमा वा वंशाणुगत कारणले बालबालिकाहरू कष्टकर जीवन बाँच्न बाध्य हुन्छन् । साथै मानसिक र शारीरिक कारणले पनि बालबालिकाहरूको जीवन कष्टकर हुन्छ ।

नेपालमा २०६८ सालको जनगणनाअनुसार ९ हजार ७ सय १४ जना बालबालिकाहरूमा आफैँ खान–बस्न नसक्ने कष्टकर जीवनको समस्या छ । मोरङमा यो समस्या भएका १ सय ६ बालिका र १ सय ४८ जना बालक छन् । कोशी बहिरा संघ विराटनगरका अनुसार श्रवण दृष्टिविहीन भएकाको लागि ‘स्वस्थ्य जीवन’ कार्यक्रम मोरङमा ६ महिनादेखि सञ्चालन भइरहेको छ । क्रमशः यस्ता बालबालिकाहरूको खोजी गरेर उनीहरूलाई तालिम दिँदै जाने बहिरा संघको योजना छ ।

Loading...