साग : महिला साइक्लिङमा नेपाललाई स्वर्ण र रजत

काठमाडौं, १९ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला साइक्लिङमा नेपाललाई दुई पदक प्राप्त भएको छ । बिहीबार गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा भएको क्रस कन्ट्रीमा नेपालका दुई खेलाडीले स्वर्ण र रजत जितेका हुन् ।

नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् भने उषा खनालले रजत जितिन् । लक्ष्मी क्रस कन्ट्रीको ४ किमीको ४ ल्यापमा निर्धारित दूरी १ घण्टा २०.२० सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्न सफल हुँदा उषाले १ घण्टा ३५.५२ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।

महिला साइक्लिङमा भारतले कास्य पदक जित्यो । भारतकी प्रनिता प्रफुलले १ घण्टा ३६.२९ सेकेण्डसहित कास्य जितिन् ।

Loading...