visit-nepal

पत्रपत्रिकामा प्रदेश : प्रदेश १ मा अवैध हतियारको कारोबार बढ्यो

विराटनगर १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले थालेको सशस्त्र आन्दोलनसँगै प्रदेश १ मा अवैध हतियारको कारोबार र प्रयोग बढेको पाइएको छ ।

विगत चार महिनामा प्रहरीले २१ थान हतियार बरामद गरेको छ । हतियारसहित पक्राउ परेका २५ जनालाई मुद्दा चलाएको छ । यो खबर उद्घोष दैनिकले मुख्य पृष्ठमा छापेको छ । गत साउनदेखि कात्तिकसम्ममा २५ जनालाई हतियारसहित पक्राउ गरेको हो । त्यसमा पेस्तोल ७ थान, कटुवा २ थान भरुवा बन्दुक १२ थान बरामद गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रदेश १ मा ६५ थान हतियारसहित ४९ जनालाई हतियार मुद्दामा कारबाही गरिएको थियो । भारततर्फ जस्तो नेपाली सीममा कडाई गर्न नसक्दा अवैध हतियार भित्र्याउने कार्यलाई रोक्न चुनौती भएको छ ।

डिडिसीको पाउडर प्लान्ट दोब्बर क्षमताविस्तार हुँदै शिर्षकमा जनविद्रोह दैनिकमा मुख्य समाचार छापिएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षमा पाउडर प्लान्टको क्षमता दोब्बर बनाउने भएको छ ।

प्रदेश सरकारको अनुदान सहयोगमा प्लान्टको क्षमता विस्तारको काम जारी राखेको आयोजनाले चालु वर्षमै आवश्यक सबै उपकरणहरु थप गर्ने र क्षमता बढाउने जनाएको छ ।

प्रदेश सरकारले पाउडर प्लान्टको क्षमता विस्तारको लागि ५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो । दुग्ध विकास संस्थानका प्रवक्ता सुवासप्रसाद भट्टराईका अनुसार अहिले दैनिक ३० हजार लिटर दुधबाट पाउडर उत्पादन गरिरहेकोमा विस्तारपछि ६० देखि ६५ हजार लिटर दुधको पाउडर बनाउने बताए । विराटनगर स्थित आयोजनाले गत वर्ष ७ सय मेट्रिक टन धुलो दुध बनाएको थियो ।

दमकका सहकारी सेवाग्राही लुट्दै भाग्दै शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य समाचार छापेको छ । दमकका विभिन्न कोठे सहकारीले सेवाग्राहीको रकम लुट्दै भाग्दै गरेका छन् । फितलो सञ्चालक, कमजोर व्यवस्थापन समूह भएका कारण सहकारीहरु एकपछि अर्काे भाग्ने क्रम जारी छ । दमक ६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको विजोग भएको छ ।

यस्तै दमक ६ कै नारायणी बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताहरुको लाखौँ रुपैयाँ निक्षेप फिर्ता नदिएको भन्दै हार गुहार गरिरहेका छन् ।

Loading...