visit-nepal

जाडो मौसममा धेरै खानुपर्ने ३ तरकारी

विराटनगर. १८ मंसिर । जाडो मौसम शुरु भइसकेको छ । बिहान र बेलुकाको समय चिसो बढे पनि दिउसो भने घाम लागिरहेको छ । जाडोमा चिसोबाट जोगिनका लागि अनेक सावधानी अपनाउनु पर्ने हुन्छ । लापरवाही गरेमा जाडोमा अधिकांश मानिसहरू छिट्टै बिरामी परिरहेका हुन्छन् । जाडोको समयमा खाने ३ तरकारीहरू यहाँ प्रस्तुत गरिएको छ ।

च्याउ : च्याउले खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । च्याउले खानपानबाट लाग्ने विभिन्न रोगहरु लाग्न नदिन र शरीरको निराकरणमा मद्दत गर्छ । च्याउ सेलेनियमको राम्रो स्रोत हो जसले स्नायु प्रणालीलाई बलियो बनाइ शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गरि बाथका रोगीका लागि फाइदाजनक हुन्छ । च्याउ एक यस्तो अचम्मको वनस्पति हो, जसमा ‘भिटामिन डी’ पनि पाइन्छ, जसकारण शरीरका विभिन्न हड्डीमा भएको समस्यामा फाइदा पुर्‍याउँछ । ‘भिटामिन डी’ले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ ।

बाँसको तामा : तामालाई अचार, तरकारी वा जाडोमा तातो पिरो सुपको रुपमा सेवन गर्न सकिन्छ । तामा खादा मुखको स्वाद फेरिनुका साथै यो मानव स्वास्थ्यको लागि अचुक औषधि पनि मानिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह, गर्भवती महिला र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । पेटमा ग्यास बढ़ेर पेट फुल्दा, दुख्दा, झाड़ा-पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्या तथा पिसाब सम्बन्धि सबै समस्याहरूमा समेत तामाले औषधीको रुपमा काम गर्छ ।

रायोको साग : रायो जाडोको मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । रायोको सागमा पाइने भिटामिन ‘ के’ले पेट सम्बन्धि सबै रोग, महिनावारीका बेला जीउ दुख्ने, गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्ने, हड्डी खिइने समस्या, प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई पनि कम गर्न सक्छ । पेट सम्बन्धि विभिन्न रोग निको भएमा र रगत समेत सफा पार्ने भएकाले रायोको सेवनले छालालाई इन्फेक्सनबाट जोगाएर सफा र चम्किलो राख्छ ।रायोको सागले शरीरमा गर्मि पैदा गर्ने तथा भिटामिन ‘सी’को पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन, पुरानो बाथ, कफ जस्ता रोगहरुबाट जोगाउने गर्छ ।

Loading...