‘मन्त्रीज्यू, कोशी अस्पताल परिसरमा दुई वेवारिसे बिरामी मृत्युसँग लडिरहेका छन् !’

विराटनगर, १८ मंसिर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा मन्त्रीले भाषण गरेपनि व्यावहार भने ठीक विपरीत छ ।

सरकारी स्वामित्वमा रहेको विराटनगरको कोशी अस्पतालकाे इमरजेन्सी वार्ड अगाडि दुई जना बिरामी उपचार नपाएर छटपटाइरहेका छन् । सिकिस्त बिरामी भएका दुई जना पैसा र आफन्त नभएका कारण अस्पतालको इमरजेन्सी वार्डको अगाडि मृत्युसँग लडिरहेका हुन् ।

दुईमध्ये विराटनगरका दीलिप मुखिया मुस्किलले बोल्न सक्छन् । पथरीका अर्का पुरुष भने बोल्न सक्दैनन् ।

विराटनगरको अशोक चोक घर भएका ४० वर्षीय मुखिया तीन दिनदेखि अस्पतालको इमरजेन्सी वार्डअगाडि रहेको फलैँचामा लडिरहेका छन् । पथरीका पुरुष भने इमरजेन्सी वार्ड हुँदै बग्ने निकास नालाको स्लावमाथि छटपटाइरहेका छन् । मंसिरको चिसो जाडोमा रोगसँग लड्दै जीवन बचाइदिन हारगुहार मागिरहेका छन् ।

‘मसँग पैसा छैन्, आफन्तले पनि छाडेर गए,’ विराटनगर अशोक चोकका मुखियाले भने, ‘मलाई बचाइदिनुहोस्, म बाँच्न चाहान्छु ।’ मेहताको दुई वटै खुट्टामा गम्भीर चोट छ । उपचार नपाएका कारण उनको खुट्टाको घाउ बढ्दैछ ।

लागूऔषध प्रयोगकर्ता भएका कारण परिवारबाट तिरस्कृत भएका उनलाई भाइले अस्पतालसम्म ल्याएर हिँडेका हुन् । ‘भाइले अस्पतालमा छाडेर गएपछि गार्डले घिसार्दै यहाँ (फलैँचा)मा छाडिदिए,’ उनले भने, ‘दुई दिनसँम्म चिसो भुइँमा सुतेँ हिजो राति मात्र कम्मल दिए ।’

हलचल गर्न नसक्ने उनी आसपास देखिन जो कोहीलाई गुहारमागिरहेका छन् । तर उनलाई हेर्नेहरू निरीह बनेर हिँड्छन् । इमरजेन्सी प्रवेश द्वारअगाडि छटपटाइरहेका पथरीका करिब ५५ वर्षीय पुरुष बोल्न सक्दैनन् । जिउभरि झिङ्गा भन्किएका छन् । बोल्न नसकेपनि उपचारका लागि इसारा गरिरहन्छन् । तर चिकित्सक र अस्पताल प्रशासनले उपचारमा चासो दिएको छैन ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलका अनुसार पथरीका युवा दुई दिनदेखि अस्पतालमा लडिरहेका छन् । दीलिप भने तीन दिनदेखि फलैँचामा छन् । उनीहरूको उपचारका लागि अस्पतालले चासो नदिएको उनले बताए । ‘स्वास्थ्यमन्त्री उपचार नपाएर कोही मर्दैनन् भन्नुहुन्छ,’ उनले भने, ‘ तर सरकारी अस्प्तालमा विरामीले उपचार पाएका छैनन् ।’

Loading...