उसुमा दीपक हमाललाई स्वर्ण, नेपालको स्वर्ण संख्या २५ पुग्यो

काठमाडौं, १८ मंसिर । नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालले स्वर्ण हात पारेको छ । बुधबार भएको स्पर्धामा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका हुन् ।

लगानखेलस्थित आर्मीको कर्भडहलमा भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । सोही स्पर्धामा भारतका साजन लामाले रजत जित्नुभयो भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारे ।

उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेकी थिइन् ।

त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस स्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जित्दा भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे ।

दीपकले जितेको स्वर्ण पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २५ पुगेको छ ।

Loading...