visit-nepal

जोगबनी गएर लागूऔषध सेवन गर्नेहरू भन्छन्, ‘सर म सुध्रिन चाहान्छु तर सकिरहेको छैन’

लागू औषध सेवनको दुर्व्यसनमा फसेका नेपाली यूवाहरूको समस्या

विराटनगर, १८ मंसिर । ‘बुबा विदेशमा हुनुहुन्छ । घरमा आमा, श्रीमती र काखे छोरा छ । बाबा–ममीको टेलिफोनमा हुने विवादले मलाई सधैँ तनाव हुन्छ । किनकी लागूऔषध दुर्व्यसनीमा फसेका कारण म धेरै सोच्न सक्दिन् ।’

केही दिनअघि जिल्ला प्रहरी कार्यालय मोरङले सीमावर्ती क्षेत्र रानीमा स्थापना गरेको लागूऔषधविरुद्धको अभियान (क्यान) सेन्टरमा डिएसपी घनश्याम श्रेष्ठसँग सुनसरी पाण्डे थरका एक युवा भन्दै थिए ‘सर म सुध्रिन चाहान्छु ।’

गुनासो सुनाउँदै गर्दा उनी बेलाबेला भक्कानिन्थे । लागूऔषध दुर्वयसनीमा फसेर बाहिर निस्कने प्रयास गरिरहेका उनी एक पटक सुधार गृहमा पनि बसे । सुधार भएपछि रोजगारीका लागि दुबई पुगे । तर काम राम्रो नभएपछि घर फर्किए ।

सुधार गृहमा उनलाई बसाउँदा लागेको ऋणका कारण उनका बुबा–आमाबीच विवाद हुनेगर्छ । आफ्नै कारणले आमा–बुबाबीच भएको विवादले उनलाई पिरोल्छ । सहन नसकेपछि उनी लागू औषध सेवनका लागि जोगबनी पुग्छन् । बुधबार लागूऔषध सेवन गरेर फर्कँदै गर्दा पक्राउ परेपछि उनले परिवारसँग टुटेको विश्वास फर्काउन नसकेपछि पुनः लागूऔषध सेवन गर्न थालेको बताए ।

‘अस्ती पनि आएको थिएँ, तर बाटोमा मूडचेञ्ज भएपछि रिचमण्ड फलोसिपमा गएर सरहरूसँग सल्लाह लिएर घर फर्किँए,’ उनले भने, ‘तनावका कारण मूड बनेपछि सम्हाल्न सकिँन ।’

भक्कानिँदै गुनासो सुनाइरहेका उनीसँग हातमा सीप छ । सुनसरी कालाबजारमा मोटरसाइकल ग्यारेज खोल्ने योजना पनि बनाएका छन् । तर उनीसँग पैसा छैन । विदेश जानुअघि ग्यारेज डुबाएका कारण परिवार र समाजमा उनीप्रतिको विश्वास टुटेको छ । ‘मैले ग्यारेज सञ्चालन गर्न खोज्दा परिवारले विश्वास गर्दैन’, उनले भने, ‘मैले आफैँ विश्वास तोडेको छु ।’

उनलाई सुधार गर्नका लागि श्रीमतीले पनि धेरै त्याग गरेकी छन् । तर उनी चाहेर पनि सुध्रिन कठिन भएको बताउँछन् । ‘श्रीमतीले सहेर बसेकी छन् । छोराका लागि केही गर्नु छ,’ उनले भने, ‘बाइक ग्यारेज खोलेर सेटल हुने योजना छ । तर सकेको छैन ।’

सहजकर्ता डिएसपी भन्छन्, ‘चाहाना गर्‍यौ भने सुध्रिन सक्छौ’

सीमावर्ती बजार जोगबनी गएर लागूऔषध सेवन गर्नेहरूलाई परामर्श गरेर सुधार गर्नका लागि मोरङ प्रहरीले स्थापना गरेको क्यान सेन्टरका सहजकर्ता डिएएपी घनश्याम श्रेष्ठ पाण्डे थरका युवालाई मात्र नभएर धेरै दुर्व्यसनीहरूलाई लागूऔषधबाट मुक्त हुन नयाँ–नयाँ विषय साथीहरूलाई सेयरीङ गर्न सल्लाह दिन्छन् ।

‘तपाईँकी आमा र श्रीमतीलाई पनि हामी काउन्सिलिङ गर्छाैँ’ उनले भने, ‘तिमी सही ठाउँमा छौ । तर मूड बन्यो भन्दै जोगबनी नजानु, तनाव लिने काम नगर्नु ।’ उनका अनुसार लागूऔषध सेवन गर्न भारतीय बजार जोगबनी आउने प्रायः युवाहरूको एउटै भनाइ हुन्छ, ‘सर म सुध्रन चाहन्छु तर सक्दिँन ।’

लागूऔषध सेवन र ओसारपसार नियन्त्रण गर्न सीमामा क्यान सेन्टर

लागूऔषध प्रयोगकर्ताहरू जोगबनी केन्द्रित हुन थालेपछि प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्धको अभियान सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम लागूऔषध नियन्त्रण गर्न मोरङ प्रहरीले भारतीय सीमाना नजिकै विराटनगर–१६ रानीमा क्यान सेन्टर (क्याम्पेन एगेनस्ट नार्कोटिक्स) स्थापना गरेको हो ।

लागूऔषध दुर्व्यसनीलाई समाजमा पुनर्स्थापना गर्ने र ओसारपसार, खरिद–बिक्रीजस्ता अपराधमा युवा जमातलाई जोगाउन क्यान सेन्टरले सहयोग पुर्‍याउने गरेको छ । क्यानको सञ्चालन नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर शाखा, पुनस्र्था पना तथा उपचार केन्द्र विराटनगर र महानगरपालिकासँगको सहकार्यमा मोरङ प्रहरीले गरिरहेको छ ।

क्यान सेन्टरमा दैनिक १० देखि १५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीले काउन्सिलिङ गर्दै आएको छ । सीमा क्षेत्रमा गएर लागूऔषध सेवन गरेर आएका यूवाहरूलाई क्यान सेन्टरमा राखेर काउन्सिलिङ गर्दै प्रारम्भिक उपचार पनि गरिने गरिएको छ । क्यानमार्फत लागूऔषध अभियानको दोस्रो चरणअनुसार पहिले दुर्व्यसनीलाई काउन्सिेलिङ दिने, दोस्रो मध्यम तहका लागि पुनर्स्थापना केन्द्रमा राखिने र तेस्रो गम्भीर तहका दुर्व्यसनीलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गरिन्छ ।

Loading...