पत्रपत्रिकामा प्रदेश : माओवादी हमलामा मारिएका मालपोत अधिकृतको किर्ते हस्तक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विराटनगर १८ मंसिर । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा तत्कालिन विद्रोही माओवादीले १० मंसिर २०५८ हमला गर्दा निधन भएका कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहम्फेको निधन भएकै दिनको मिति राखेर विश्व सम्पदा सुचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर लाइन्सका संचालकले कब्जा गरेको समाचार नयाँ पत्रिकामा छ ।

राष्ट्रिय सम्पत्तिमा यति माउन्टेन होम कोङ्दे रिसोर्ट खोलेर एउटै कोठाबाट दैनिक ५० हजार रुपैयाँसम्म कमाई गरिरहेको समाचारमा छ । निकुञ्जको नाममा रहेको कित्ता नम्बर २३५ लाई कित्ताकाट गरेर कित्ता नम्बर ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कित्ता नम्बर ३८९ मा २५ रोपनी ४ आना १ पैसा कायम गरेर व्यक्तिको नाममा सारिएको हो ।

विश्वसम्पदा सूचीमा रहेको जग्गा आफ्नो नाममा आएको भन्ने आङ्मायालाई थाह समेत नभएको उल्लेख छ । करिब १ वर्ष ६ महिनापछि उनीहरुको नामबाट फेरी कोङ्दे भ्यु प्रालि र ल्हाक्पा सोनम शेर्पाको नाममा सारिएको थियो । कोङ्दे भ्यु प्रालिका सञ्चालक र यती एयरका तत्कालिन सञ्चालक आङ्छिरिङ शेर्पा हुन् ।

यो जग्गा किर्ते गरेर लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गर्दै यी दुवै कित्ताको निजी स्वामित्व वदर गर्न निर्देशन दिएपछि पछि सर्वाेच्च अदालतले अख्तियारको निर्णयले कानुनी मन्यता पाउन नसक्ने भन्दै उल्टाइदिएको थियो ।

यो जग्गाको विषयमा फेरी बालुवाटारको जग्गा विवादसँगै छानविन सुरु भएको छ । सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले यो जग्गाको छानविन सुरु गरेको हो ।

विराटनगरको बरगाछीदेखि बसपार्कसम्मको कोशी राजमार्गलाई नो पार्किङ जोन बनाउने योजनाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ पछि हटेको छ । नागरिक दैनिकमा छापिएको खबरमा राजमार्गको पूर्वतर्फ भने पार्किङ गर्न दिइने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरेको समाचारलाई समेत आजका पत्रपत्रिकाले प्रम्खताका साथ छापेका छन् । कान्तिपुर दैनिकमा १० वर्षमा ७ हजार किमि सडक शिर्षकमा समाचार छापेको छ । यही सडकभित्र ४ सय ६० वटा पुल निर्माण गर्न २ खर्ब ४ अर्ब १७ करोड ६० लाख लगानी गरिने गुरु योजनामा उल्लेख छ ।

Loading...