Rumpum Advertisement

पूर्वका विद्यार्थीलाई पत्रकारितामा डिग्री पढ्न सास्ती

Neuro Revised Adv
Koshi Dashain ad
पूर्वका विद्यार्थीलाई पत्रकारितामा डिग्री पढ्न सास्ती

विराटनगर, १७ मंसिर । पूर्वमा स्नातकोत्तर तहमा पढनपाठन हुने क्याम्पस अभावमा पत्रकारिताका विद्यार्थीहरूले सास्ती पाउँदै आएका छन् । माध्यमिक र स्नातक तहमा पत्रकारिता विषय पढ्ने सुबिधा भएपनि स्नातकोत्तर (डिग्री) पढ्ने क्याम्पस नहुँदा पूर्वका विद्यार्थीहरूले अझै संघीय राजधानी काठमाडौँकै भर पर्नुपर्ने बाध्यताले गर्दा सास्ती पाउँदै आएका हुन् ।

पत्रकारिता पेशाप्रति रुचि राखेर स्नातक तहमा भर्ना भएर पढेका विद्यार्थीहरू स्नातकोत्तरको पढाइ कुनै क्याम्पसमा नहुँदा काठमाण्डौँ नै धाउनुपर्ने वा पढाइलाई बीचैमा छाड्नुपर्ने वा ‘डाइभर्ट’ गरेर पढ्नुपर्ने बाध्यतामा छन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका अनुसार एक नम्बर र दुई नम्बर प्रदेशका सिरहा र सप्तरी जिल्लामा गरी जम्मा १३ वटा क्याम्पसमा बर्सेनि एक हजार बढी विद्यार्थीले स्नातक तहमा पत्रकारिता पढ्दै आएका छन् ।

विराटनगरको महेन्द्र मोरङ, सप्तरीको नेशनल पिपल्स, सुनसरी इटहरीको जनता, विर्तामोड झापाको मनोकामनालगायत विभिन्न १३ वटा क्याम्पसहरूले पूर्वमा पत्रकारितामा स्नातक तहको पठनपाठन गराउँदै आएका छन् । यति धेरै क्याम्पसहरूमा पत्रकारिता विषयको पढाइ भएपनि उच्च शिक्षा स्तातकोत्तर पढ्नका लागि भने पूर्वमा अझै क्याम्पसमा सुबिधा उपलब्ध छैन ।

पत्रकारितामा डिग्री पढ्ने क्याम्पस अभावमा विद्यार्थीहरूले महंगो खर्चमा काठमाडौँ धाएर सरकारी र निजी क्याम्पसमा भर्ना हुनुपर्ने बाध्यता कामयै रहेको महेन्द्र मोरङ कलेजमा पत्रकारिता विषय प्राध्यापन गराइरहेका पत्रकार महाप्रसाद खतिवडाले भने । उनले त्रिभुवन विश्वविद्यालयले पत्रकारितामा स्नातकोत्तर पढाइका लागि क्याम्पसलाई सम्बन्धन दिनुपर्ने आवश्कता टड्कारो देखापरेको बताए ।

उनका अनुसार पत्रकारितालाई नै क्यारियर (पेशा) बनाउने रुचि राखेर कक्षा ११ र १२ पास गरेर स्नातक तहमा भर्ना हुने विद्यार्थीहरूको आर्कषण बढ्न थालेको छ । तर, स्नातकोत्तर पढ्न पूर्वमा सुबिधा नहुँदा विद्यार्थीहरू स्नातक तहमै पत्रकारिता विषय पढ्नका लागि हच्कने गरेका छन् । पूर्वमै पत्रकारितामा स्नातकोत्तर कक्षा सञ्चालन भएमा स्नातह तहमा पढ्ने विद्यार्थीहरू थप आर्कषित हुने उनले बताए ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थी माधव काफ्ले स्नातकोत्तरको सुबिधा नभएको र काठमाडौ बसेर पढ्ने सामर्थ्य नहुँदा आफू चिन्तित भएको बताए । उनले आर्थिक प्रबन्ध गर्न नसकेमा विषय परिवर्तन गरेर स्नातकोत्तर कक्षामा भर्ना हुने सोच बनाएका छन् । विराटनगरमै हाल स्नातक तेस्रो वर्षमा पत्रकारिता पढिरहेकी आशिका शर्माले पनि उत्तीर्ण भएपछि कसरी स्नातोकोत्तर पढ्ने होला भनेर आफूलाई चिन्ता लाग्न थालेको बताइन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिमल्सिना विद्यार्थीहरूको समस्यालाई ख्याल गरेर आफूहरूले विश्वविद्यालयसँग पत्रकारितामा स्नातकोत्तर कक्षा सञ्चालनका लागि सम्बन्धन माग गरिहेको बताए । उनले भने, ‘विद्यार्थीको समस्यालाई ध्यानमा राखेर यसका हामी सम्बन्धन माग गरिहेका छौं । तर, त्रिभुवन विश्वविद्यालयले हालसम्म सम्बन्धन नदिएकोले हामीले पत्रकारिताको स्नातकोत्तर कक्षा सञ्चालन गर्न पाएका छैनौँ ।’

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेशका महासचिव विवेक गौतम सीपमूलक पढाइ भएकोले तत्काल रोजगार पनि प्राप्त गर्नका लागि पत्रकारिताको उच्चशिक्षाप्रति विद्यार्थीको आर्कषण बढिरेहको बताउँछन् । तर डिग्री गर्न अझै महंगो खर्च गरेर काठमाडौँ नै धाउनुपर्ने बाध्यताले विद्यार्थीहरूलाई सास्ती भइरहेको स्वीकार्छन् ।

महासचिव गौतमले स्नातक तहमा पत्रकारिता पठनपाठन गराइरहेको विराटनगरस्थित मोरङ क्याम्पसमा पत्रकारिताको स्नातकोत्तर कक्षा सञ्चालन भए नियमित विद्यार्थीहरूलाई मात्र नभएर पत्रकारिता गरिरहेकाहरूलाई पनि पढ्न सहयोग पुग्ने बताए । उनले भने, ‘अब पत्रकारिताजस्तो सीपमूलक शिक्षालाई संघीय राजधानीमा मात्र खुम्च्याएर राख्नु हुँदैन सबै प्रदेशमा सम्बन्धन दिनुपर्छ ।’