मंसिर २१ मा लगनगाठो कस्दै ऋचा

विराटनगर, १७ मंसिर । चर्चित नेपाली अभिनेत्री ऋचा शर्माले केही समय अगाडि ब्याचलर पार्टीमा सहभागी भएसँगै विवाहबारे निकै चर्चा चलिरहेको छ । लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको हुदा यहि वर्ष लगन गाठो कस्ने निर्णय लिएकी उनले आफ्नो सामाजिक संजालको माध्यमबाट आफ्नो विवाहको साइत सार्वजनिक गरेकी छिन् ।

ऋचाले डिसेम्बर ७ अर्थात् यहि मंसिर २१ गते बिहे गर्न लागेको बताएकी छिन् । ऋचाले आफूहरुलाई प्रेम दर्शाउने सबैलाई धन्यवाद दिदै आफ्नो विहेको कार्ड सार्वजनिक गरेकी हुन् । लामो समयदेखि राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी ऋचा दुलही बन्न लागेकी हुन् ।

ऋचा र दिपेक्ष्यलाई परिवारबाट समेत विवाहका लागि अनुमती मिलिसकेपछि ऋचाले विवाह अघि आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । पोखरामा दिएको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको उपस्थिति रहेको थियो ।

विवाहको विषयमा मिडियासँग कुराकानी गर्दै उनले प्रेमीको नाम लुकाउँदै आफू प्रेममा रहेको भने स्वीकार गरेकी थिईन् ।

Loading...