fbpx

जीप दुर्घटनामा परी मृत्यु हुने १० जनाको पहिचान, ३ गम्भीर घाइते, एक बेपत्ता

गुल्मी, १७ मंसिर । बाग्लुङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुने १० जनाको पहिचान भएको छ । बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलबार भएको दुर्घटनामा परी मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।
गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप कोप्चेमा दुर्घटनामा परेको थियो । जसमा, १४ जनाको मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।

त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की, २५ वर्षीय मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं लैजाने तयारी गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । अहिले बेपत्ताको खोजी र थप उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

Loading...