साग क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं, १७ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंकासँग ६ विकेटले हार ब्यहोरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका सामु असानले अविजीत ७२ रन बनाउँदा निशान मदुस्काले ४६ रन जोडे ।

नेपालका लागि बलिङमा पवन सराफले दुई विकेट लिँदा सुशान भारी र सोमपाल कामीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । नेपालको लागि दीपेन्द्र सिंहऐरीले ७२ रन बनाउँदा पवन सर्राफले २२ रन बनाए । विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१–२१ रन जोड्दा आरिफ शेखले १९ रन बनाए ।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिँदा असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १–१ विकेट हात पारे ।

Loading...