fbpx

‘सत्ताको विरोध गर्नेगरेकी हुँ व्यक्ति पुरुषको हैन’ : सीमा आभास, साहित्यकार

sadf

कहाँ जन्मिनु भयो ?

म ओखलढुङ्गाको वरुणेश्वर गा.वि.स वडा नँ ४ मा जन्मिएकी हुँ ।

परिवारमाको को हुनुहुन्छ ?

बुबाआमा, चार दिदीबहिनी र एक जना भाइ छौँ ।

बाल्यकालमा घरको वातावरण कस्तो थियो ?

परिवारमा सबै शिक्षित हुनुहुन्छ । बुबा मास्टर हुनुहुन्थ्यो । आमा कविता र नाटक लेख्नुहुन्थ्यो । नेपाली कांग्रेसबाट बुबा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ऊबेला ओखलढुङ्गामा राजनीतिक कार्यक्रम हुँदा केन्द्रीयदेखि जिल्लास्तरीयसम्मका नेताहरू खाना खान हाम्रै घरमा आउनुहुन्थ्यो । घरमा राजनीतिक माहौल हुन्थ्यो । म पनि सानैदेखि राजनीतिक कार्यक्रमहरूमा हिँड्ने, भाषण गर्ने गर्थेँ ।

पढाइ कहाँ सुरु गर्नुभयो कहाँ सकियो ?

मैले एसएलसीसम्म ओखलढुङ्गामा नै पढेँ । त्यसपछि आईए र बीए महेन्द्र मोरङमा र एमए चाहिँ अंग्रेजीमा काठमाण्डौ कीर्तिपुरबाट गरेँ ।

घरमा राजनीतिक माहौल हुँदाहुँदै साहित्यप्रति प्रेरणा चाहिँ कसरी जाग्यो ?

घरमा आमा छन्द कविता र नाटकहरू लेख्नुहुन्थ्यो । उहाँ नाटकमा कलाकार भएर खेल्ने पनि गर्नुहुन्थ्यो । बुबाबाट राजनीतिक चेतना आएपनि आमाको प्रभावमा परेर साहित्यमा मेरो आर्कषण बढ्यो ।

विवाह गर्नुभयो ?

अँ, २०६६ सालमा गरेकी हुँ ।

प्रेमकी मागी विवाह हो ?

हाहाहा, प्रेम विवाह हो ।

विद्रोही स्वभावको हुनुहुन्छ, प्रेम विवाह चाहिँ कसरी भयो नि ?

हो, म अलि विद्रोही स्वभावकी छु । घरमा सबैले यसले विवाह गर्दिँन होला भनेर चिन्ता लिने गर्नुहुन्थ्यो । मलाई चुनौती पनि थियो । तर प्रेममा परेँ, एकबेला समय नै त्यस्तो आउँदो रहेछ । आखिर विवाह भयो ।

सन्तान कति भए त ?

दुई छोरा छन् ।

श्रीमान् के गर्नुहुन्छ नि ?

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ ।

कहिलेदेखि साहित्य क्षेत्रमा लाग्नुभयो ?

सानैदेखि साहित्यमा रुचि थियो । याद भएसम्म मैले कक्षा २ देखि नै कविताहरू लेख्न थालेकी थिएँ ।

तपाईँलाई विद्रोही महिलावादी कवि भनिन्छ , किन ?

महिलाका कुरा महिलालाई नै बढी थाहा हुन्छ । म महिला हुँ यसैले मलाई महिलाका समस्याहरू बढी थाहा छन् । यसैले म ती समस्या र भावनाहरूलाई साहित्यमा उर्ताछु । महिलावादी कवि बनुँ म भनेर चाहिँ बढी महिलाको वकालत गरेर साहित्य सिर्जना गरेकी चाहिँ होइन । मैले त मात्र महिलाको दुःख, कष्ट, पीडा, खुशी आफूले बुझेकी हुनाले र तिनै कुराहरुलाई लेखेकी मात्र हुँ ।

तपाईँलाई कतिबेला चाहिँ साहित्य फुर्छ नि ?

यहीँ समयमा फुर्छ भन्ने हुँदैन । कहिलेकाँही निन्द्रामा, हिँड्दा–हिँड्दै, काम गर्दागर्दै पनि फुर्छ । साहित्य फुर्नु भनेको हाछ्यूँ आउनु, खोकी लाग्नुजस्तै हो, कुनबेला फुर्छ थाहा नै हुँदैन ।

कस्तो वातावरण रुचाउनु हुन्छ, साहित्य सिर्जनाका लागि ?

एकान्त र शान्त वातावरण मन पर्छ ।

अहिलेसम्म कति वटा कृतिहरू प्रकाशन गरिसक्नु भयो ?

‘साँझको सँघारबाट’ (२०६३), ‘म स्त्री अर्थात् आइमाई’ (२०७३) गरी दुई कविता संग्रह र ‘टापुका स्वरहरू’ (२०६६) नामक एउटा कथा संग्रह प्रकाशित छन् ।

प्रकाशित कृतिहरूमा आफूलाई विशेष मन परेको कृति छ ?

यो नै विशेष मन पर्ने भन्ने छैन । बरु जसरी बुबाआमाको लागि छोराछोरी बराबर हुन्छन् त्यस्तै साहित्यकारको लागि पनि सबै कृतिहरू उत्तिकै प्यारा हुन्छन् ।

फेरि कुनै कृति प्रकाशनको तयारीमा हुनुहुन्छ की ?

अँ छु, उपन्यास लेख्दै छु । सम्भवतः यहीँ वर्ष प्रकाशन गर्ने तयारीमा छु ।

तपाईं अंग्रेजीको प्राध्यापक तर साहित्य चाँहि नेपालीमा लेख्नु हुन्छ, गाह्रो हुँदैन ?

हुँदैन । सपना देख्ने भाषा र सोच्ने भाषा जे हो त्यसमै लेख्न सकिन्छ । म अंग्रेजीको प्राध्यापक भएपनि त्यो मेरो पेशा हो । बरु अंग्रेजी जानेकोले मलाई अंग्रेजी साहित्य पढ्न पनि सहज हुन्छ । म अंग्रेजीको विद्यार्थी भएपनि मेरो मातृभाषा नेपाली हो । त्यसैले मैले अंग्रेजी पढे पनि मेरो सोच्ने भाषा नेपाली नै हो ।

तपाईंलाई साहित्यकार मात्र नभएर नारीवादी नेता पनि भन्छन्, स्वीकार्नु हुन्छ ?

खै, अरुले गर्नुभएको मूल्यांकन मेरो कुनै हस्तक्षेप छैन ।

तपाईं पुरुषप्रति धैरे विरोध र खरो टिप्पणी गर्नुहुन्छ । पुरुषहरूप्रति नै यति धेरै रुखो व्यवहार किन ?

मैले पुरुषको विरोधमा बोलेकै छैन नि । पुरुष र पुरुषसत्ता एउटै हो भन्ठान्छन्, पुरुषहरू । तर, यि दुवै फरक कुरा हुन् । मैले पुरुष सत्ताको विरोध गरेको हो व्यक्ति पुरुषको हैन । त्यसमा पनि कुरीतिको कुराहरूजस्तै महिलाहरूलाई मान्छे नगन्ने, उनीहरूको हकअधिकारलाई कुण्ठित गर्न खोज्ने, दबाउने होच्याउने कुराहरूको विरोध गरेको हो । आम नेपाली समाजका पुरुषहरूले महिला भनेको लजाउनु पर्ने, नम्र हुनुपर्ने भन्ठान्छन्, शासन गर्न खोज्छन् । मलाई त्यो मन पर्दैन र मैले सोही कुराको मात्र विरोध गरेको हो । पुरुषको होइन ।

आफ्नो विद्रोही स्वभावलाई कसैले टिप्पणी गर्दा कस्तो लाग्छ ?

वास्तै लाग्दैन । हजारौँले ट्याकट्याक गर्छन्, कतिको पछि लागेर सक्नु र ।

तपाईंभन्दा कम चर्चित साहित्यकारहरूले पुरस्कार पाएकापायै छन् तर तपाईं पुरस्कारको भिडमा देखिनु हुन्न त ?

अँ मैले त्यति धेरै पुरस्कार पाएको छैन । खै, पुरस्कार पाउन लायक नभएर पनि हो कि ! ‘म स्त्री अर्थात् आइमाई’ कविता संग्रहबाट चितवन साहित्य परिषद्ले चाहिँ मलाई पुरस्कृत गरेको छ ।

प्रस्तुति : आशिका लम्साल (आशिका कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन्)

Loading...