fbpx

फिलिपिन्समा आँधीको त्रासले भागाभाग

फिलिपिन्स १६ मङ्सिर । फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा स्थानीयको भागाभाग भएको छ । कामुरी नामको आँधीबाट हजारौँ विस्थापित भएको उद्धार संस्थाहरुले जनाए ।

शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेकोे छ । त्यस क्षेत्रबाट सयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारिएको छ ।

शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ । क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्व तयारी थालेका छन् । मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले आँधी प्रति घन्टा कम्तीमा पनि १ सय ८५ किलोमिटरका दरले आउने अनुमान गरे । यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरी पहिरो पनि जान सक्ने उनीहरुले बताएका छन् ।

सोमबार राति अबेर र मङ्गलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान उनीहरुले गरेका छन् । मङ्गलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा यस देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरुको छ ।

आँधी र यसका साथमा भारी वर्षा पनि हुने अनुमान गरिएको छ । वर्षातसँगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले तयारी गरिरहेको छ ।

अहिले आँधी मनिलाको नजिक पुग्न लागेको छ । यदि मनिलामा प्रवेश गर्यो भने कम्तीमा पनि १ करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुनेछ ।

मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भएका छन् । क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो । क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरुले बताएका छन् ।

फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो ।

Loading...