fbpx

‘प्रेमगीत ३’ को क्यारेक्टर पोस्टरमा शिव श्रेष्ठको क्रोधित अवतार

विराटनगर, १६ मंसिर । एक महिना अगाडी छायांकनमा गएको फिल्म ‘प्रेमगीत ३’ मा मुख्य भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । निकै भिन्न अवतारमा देखिने शिवको पोस्टरलाई निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा लामो कपाल र जुँगामा देखिएका शिवलाई झट्ट हेर्दा चिन्न गाह्रो पर्छ । राजाको भेषमा सिंहासनमा क्रोद्धित मुद्रामा देखिएका शिवको यो लुक्सले दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ ।

फिल्ममा उनी डेढ सय वर्ष अगाडिको राजाको र अभिनेता प्रदीप खड्का र नव-अभिनेता मनिष राउतको पिताको भूमिका निर्वाह गरेका छन् । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको काठमाडौं छायांकन सकिएको जानकारी गराएको छ । महिनौं लगाएर निर्माण टिमले फिल्मको इनडोर छायांकनका लागि कीर्तिपूरमा भव्य सेट निर्माण गरेको थियो भने अब फिल्मको छायांकनका लागि मनाङ प्रस्थान गरेको फिल्मका निर्माता सन्तोष सेनले बताए ।

मनाङमा फिल्मको महत्त्वपूर्ण सिन खिचिने हुदा मुस्ताङबाट घोडा मगाइएको सन्तोषले थपे । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मललाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दै छन् । फिल्ममा दुई सिरिजमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रदिप खड्का फेरी पनि प्रेमको भूमिकामा रहेका छन् भने उनको जोडी नव नायिका क्रिस्टिना गुरुङसंग बाधिएको छ ।

फिल्ममा बाल अभिनेता अनुभव रेग्मी, बालकलाकार समृद्धी शाही ठकुरी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहने भएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत्र २८ गते रिलिज गरिने भएको छ ।

Loading...