fbpx

मृगौला रोगका केहि लक्षण वा संकेत

विराटनगर, १६ मंसिर । मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । शरीरमा पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राखी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने काम गर्छ । मृगौलाले रगतको विकारलाई छानि शुद्ध पारेर शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ ।

रगतलाई शुद्ध बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गर्छ जसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहित गर्छ । मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गर्छ । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा एउटा व्यक्ति गम्भीर बिरामी हुन वा उसको मृत्यु समेत हुन सक्छ ।

मृगौलाले शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने काम गर्नुका साथै हड्डिलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा एसिडको मात्रा सन्तुलित राख्न जस्ता कामहरू गरिरहेको हुन्छ । शरीरमा पानीको मात्रा कम हुदा, जथाभावी औषधिको सेवन, नुन र गुलियोको धेरै प्रयोग, धेरै समय पिसाब रोक्दा, व्यायामको कमि, अत्यधिक धुम्रपान तथा रक्सीको सेवन वा अन्य विभिन्न समस्याका कारण मृगौलामा रोग देखा पर्न सक्छ ।

गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ । मृगौलाका रोगका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक हुने हुदा मृगौला रोगको लागि परीक्षण गर्नु नै जरुरी हुन्छ । धेरै मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुने, पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या देखा पर्न सक्छ । साथै, कमजोरी हुने, चाँडै थाक्ने, ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने तथा खुट्टा बाउँडिनु मृगौला रोगको सामान्य लक्षण हुन् ।

मृगौलाले काम कम गर्न छाड्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुने हुदा वाकवाकी लाग्ने, खान मन नलाग्ने, मुखमा असामान्य स्वाद आउने, उल्टी आउने समस्या देखा पर्न थाल्छ । शरीरमा पानीको मात्रा कम भएर हुने मृगौला रोगमा अनुहार, पेट र खुट्टा सुन्निने जस्ता प्राय देखिने लक्षण हुन् । अरु रोगले ग्रसित भएका बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि शरीरका विभिन्न भाग सुन्निने समस्या देखिन सक्छ ।

सानो उमेरमा उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुने गर्छ । शरीरमा रगत कम भएर शरीर सेतो हुनुका साथै शरीरको छालामा गाढा कालो दागहरु देखा पर्न थाल्छ । यसले सास फेर्न गार्हो भएर छाती दुख्ने समस्या देखा पर्नुका साथै मानिस बेहोस सम्म हुन सक्छ । त्यसैले मृगौलालाई खराब हुनबाट जोगाउनका लागि स्वस्थ खानेकुराहरु खाने, पर्याप्त मात्रामा पानी पिउने, नियमित व्यायाम गर्ने र धुम्रपान तथा रक्सीको त्याग गरि खराब बानीमा परिवर्तन ल्याउनु जरुरी छ ।

Loading...