fbpx

भारी वर्षाको कारण भारतमा १७ जनाको मृत्यु

भारत, १६ मंसिर । भारतमा भारी वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको हो ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ ।

मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ । भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ ।

कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो । रासस

Loading...