fbpx

सेतोपानी बग्ने समस्या जटिल बन्न सक्ने

विराटनगर, १६ मंसिर । महिलाहरूमा सेतो पानी बग्ने समस्या धेरैनै देखिन थालेको छ । सानै उमेरका महिलामा समेत यस्तो समस्या देखिन थालेको छ । धेरैजसो महिलाहरूलाई महिनावारी हुने समयमा लगातार सेतोपानी बग्ने समस्याले सताएको हुन्छ ।

तर, विशेष गरी अस्वस्थकर जीवनशैली र खानपानका कारण यस्तो समस्या बढेको देखिन्छ । धेरै महिलालाई यस्तो समस्या भएको बेला डाक्टरकहाँ जान लजाउने भएकाले यस समस्याको उपचार हुन भने सकिरहेको छैन । महिलाहरूमा देखिने विभिन्न स्वास्थ्य समस्या मध्येको ‘योनीबाट सेतोपानी बग्ने’ समस्यालाई कतिपय महिलाहरूले सामान्य रूपमा लिएका हुन्छन् ।

सेतोपानी बग्दैमा आत्तिइहाल्नु पर्नेचाहिँ हुदैन । कहिलेकाँही महिलाहरूमा सेतो पानी बग्ने गर्छ । महिलाको भित्र फूल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले सेतोपानी बग्नु सामान्य प्रक्रिया हो र यसलाई त्यति धेरै जटिल मानिँदैन । कसैलाई इन्फेक्सनका कारणले पनि प्रकृतिको पानी बग्ने गर्छ ।

दूध चुसाउने आमाको, परिवार नियोजनका विभिन्न साधन प्रयोग गर्नेहरूमा तथा महिनावारी भएको केही समयअघि र पछि पनि सेतो पानी बग्न सक्छ । यसलाई सामान्य अवस्थाको रूपमा लिइन्छ । यदि सेतोपानी बग्दा पोल्दैन, दुख्दैन, वा गनाउँदैन भने यो सामान्य हुने गर्छ । तर, गनाउने सेतोपानी बग्छ, पोल्ने वा चिलाउने हुन्छ भने सचेत भएर स्वास्थ्य परीक्षण गराइ हाल्नुपर्ने हुन्छ ।

सेतो पानी बग्ने समस्याले कहिलेकाँही जटिल रूप लिन सक्छ । बाह्रै महिना पानी बगिरहने समस्या छ, सरसफाइमा धेरै ध्यान दिँदा पनि नराम्रो गन्ध आउने, पहेँलो कलरको, रगत मिसिएजस्तो र दहीजस्तो बाक्लो पानी आउँछ भने यसलाई जटिल रूपमा लिनुपर्छ । यस्तो अवस्थामा डाक्टरकहाँ जान ढिला गर्नुहुँदैन । जंकफुडको प्रयोग र अव्यवस्थित जीवनशैलीका कारण पनि यस्तो समस्या बढ्न सक्ने हुँदा खानामा विशेष ध्यान दिनुपर्छ ।

यस्ता महिलामा पाठेघरमा समस्या, पाठेघरको भित्र नै ट्युमर वा क्यान्सर भएको, बच्चा नहुनेलगायत जटिलता देखिन सक्ने भएकाले समयमै उपचार गर्न जरुरी हुन्छ । यस्तो समस्या आएमा आफैँले घरायसी उपचार गर्नुभन्दा पनि स्त्री रोग विशेषज्ञकोमा गई उपचार गराउनु पर्छ ।

Loading...