fbpx

अञ्जलीको कीर्तिमानी बलिङ, माल्दिभ्सविरुद्ध नेपाल १० विकेटले विजयी

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि शानदार जित निकालेको छ। पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले मात्र ५ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फित्तलो प्रदर्शन गर्यो । माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ भने अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई विकेट लिइन् । ११औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन् । जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी बनाइन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Loading...