fbpx

धरानमा नेकपालाई उछिन्दै कांग्रेसका तिलक राई विजयी

धरान, १६ मंसिर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रकाश राईलाई उछिन्दै तिलक विजयी भएका हुन् ।

तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हारेका राईले यस उपनिर्वाचनमा दुई हजार ७ सय ९५ मतान्तरमा विजयी भएका हुन् । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताए ।

जितपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताए । गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उनले धरानका जनताको सहानुभूतिसमेत पाएका थिए । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध छन्। पार्टीको नगरसचिव हुँदै १३औँ महाअधिवेशनपछि उनी धरान नगर सभापतिसमेत बनेका थिए ।

Loading...