सिद्धबाबा आइसीयूमा, पक्राउका लागि पुगेको प्रहरी टोली फर्कियो

विराटनगर, १५ मंसिर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरीलाई पक्राउका लागि पुगेको प्रहरी टोली फर्किएको छ । विराट नर्सिङहोम उपचाररत गिरीलाई हृदयघात भएपछि पक्राउ गर्न पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली पक्राउ नगरी फर्किएको हो ।

आइतबार बिहान गिरीलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वमा टोली अस्पताल पुगेको थियो । तर चिकित्सकले हर्टअट्याक भएको बताउँदै आइसियूमा भर्ना गरेपछि दिनभर बसेर प्रहरी टोली फर्किएको हो ।

गिरीको आइसियूमा उपचार भइरहेको छ । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आइसियूमा भर्ना भएका हुन् ।

आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डिएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो । तर चिकित्सकले उनलाई हर्ट एट्याक भएको बताएपछि आइसियूमा भर्ना गरिएको थियो ।

गिरीको उपचारमा संलग्न चिकित्सक डाक्टर ज्ञानेन्द्र गिरीले उनलाई माइनर हर्ट अट्याक भएका कारण आइसियूमा भर्ना गरिएको बताए । ‘हर्ट एट्याकका कारण मुटुका चाल बढेपछि आइसियूमा भर्ना गरिएको छ ।’ उनले भने ‘यस्तो अवस्थामा बाहिर निकाल्नु जोखिमपूर्ण हुन्छ ।’

सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो ।

प्रहरीको निगरानीमा उपचार गराइरहेका गिरीले बिहान १० बजेसम्म आफ्ना अनुयायी र सुभचिन्तकसँग भेटघाट गरिरहेका थिए । गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले स्वास्थ्यमा समस्या आएपछि अस्पतालमै छाडेर फर्किएको बताए । उनले स्वास्थ्यमा सुधार आएपछि म्याद थप गरी हिरासतमा राखिने जानकारी दिए ।

Loading...