fbpx

निको हुँदै प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको घाउ

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । चिकित्सकहरूका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको उनको घाउ निको हुँदै गएकाले स्वास्थ्यमा सुधार हुने क्रम जारी छ ।

उपचारमा संलग्न महाराजगञ्जस्थित मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठका अनुसार उनको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ’ उनले भने, ‘शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।’

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए ।

कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।’

अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन् । रासस

Loading...