fbpx

सीताराम विवाह महोत्सव मनाइँदै

जनकपुरधाम १५ मंसिर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज(आइतबार) भगवान् सीताराम विवाह महोत्सव मनाइँदैछ ।

त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्दा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामले मात्रै सो धनुष उठाउन सकेको शास्त्रमा उल्लेख छ । माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर विवाह महोत्सव मनाइने गरेको छ ।

सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । महोत्सवमा यसपटक अयोध्याबाट नै प्रतीकात्मक भगवान् रामको जन्ती आएकाले जनकपुरधाममा मानव सागर ओर्लेको छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकीमन्दिरबाट रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

अयोध्याबाट जन्तीका रूपमा आएका प्रतीकात्मक दशरथका भूमिकामा रहेका कन्हैया दास वर्तमान समयमा पनि सीतारामको विवाहको आयोजनाले हिन्दू संस्कृतिलाई जीवन्तता प्रदान गरिरहेको बताउँछन् । सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण सीतारामको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुुकरणीय रहेको ने बताए ।

Loading...