visit-nepal

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व

काठमाडौं १५ मंसिर । शनिबार सम्पन्न उपनिर्वाचनमा मतदान भएको अधिकांश वडाहरुको निर्वाचन परिणाम आएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ । केही वडामा मत गणना भइरहेको छ ।

मार्तडी बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी हुए । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी भए । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भइन् । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५ सय ४० मत ल्याएर विजयी भइन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी भए । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका रामबाबु नायक ३७५ मत ल्याई विजयी भए । बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका विपिन पञ्जियार सुडी ४ सय ६१ मत ल्याएर विजयी भए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल १ हजार १ सय ५९ मत ल्याउँदै विजयी भए ।
रौतहटको गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७ सय ७१ मत प्राप्त गरी विजयी भएका छन् ।

बनेपाको धुलिखेल २ मा वडाध्यक्षमा कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८ सय ६७ मत प्राप्त गरी विजयी भए । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भए ।

नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खिमबहादुर थापा खरु मगर विजयी भए ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८ सय २५ मत ल्याएर विजयी भए ।

भोजपुरको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भए ।

बैतडीको तीन वडामध्ये दुई वडामा नेपाली काँगेस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी भए । दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौंडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भए ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी भए ।
मकालु गाउँपालिको अध्यक्षका लागि भएको उपनिर्वाचनमा मकालु गाउँपालिकाका १० वटै स्थानमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका नुम बजारमा ल्याइएको छ । अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेकाले केही बेरपछि मतगणना शुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी बताए ।

Loading...