visit-nepal

भोलीदेखि श्रम स्वीकृतिका लागि इ–टोकन

काठमाडौं १४ मंसिर । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन बनाउने योजना अनुसार वैदेशिक रोजगार विभागले आइतबार (भोली)देखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था सुरु गर्दैछ ।

इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउने छन् । श्रम स्वीकृति लिने कार्यालयपनि अब अनलाइनबाटै रोज्न सकिने छ ।

सेवाग्राहीले छिट्टै पालो आउने कार्यालय समेत रोज्न पाउने छन् । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ ।

त्यसैगरी श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज पठाइने छ । श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा मेसेजमार्फत आउनेछ । श्रम स्वीकृतिको फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ ।

विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगिएको विभागका महानिर्देशक डा. भीष्मराज भुसालले बताए ।

विद्युतीय भुक्तानी प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंक जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था अन्त्य हुने छ । विभागले गत कात्तिक २६ गतेदेखि अनलाइनमार्फत श्रम स्टिकर जारी गर्र्दै आएको छ ।

Loading...