fbpx

अपांगता भएकी बाल स्वयमसेविकाको रोजगारीका लागि हारगुहार

सुरेन्द्र मल्ल
विराटनगर, १३ मंसिर । तेह्र वर्षदेखि बाल स्वयमसेविका शिक्षकका रूपमा कार्यरत अपांगता भएकी एक महिलालाई विद्यालयले बिनाकारण निष्कासन गरेपछि रोजगारको सुरक्षाका लागि हारगुहार गरिरहेकी छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लास्थित मनोकामना आधारभूत विद्यालयमा १३ वर्षदेखि बालकक्षा शिक्षा पढाउँदै आएकी स्वयमसेविका (हात–खुट्टा आंशिक रूपमा अपांगता भएकी) लक्ष्मीदेवी श्रेष्ठले आफूलाई बिनाकारण निष्कासन गरेको भन्दै रोजगारको सुरक्षाका लागि हारगुहार गरिरहेकी हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण श्रेष्ठ र प्रधानअध्यापक तिलकबहादुर ढुंङगानाले गाउँपालिकाको परिपत्र बमोजिम बालविकास कक्षाका लागि रकम निकाशा नहुने भएको कारण देखाउँदै शिक्षिका लक्ष्मीदेवीलाई २८ कात्तिकमा अवकाश दिएका थिए । तर, निष्काशनमा परेकी शिक्षिका लक्ष्मीदेवीले चाहिँ स्वयमसेवकको रूपमा कार्यरत बालशिक्षिकाको तलब न्युनतम पारिश्रमिकअनुरुप मासिक १३ हजार तोकिएकोले आफ्ना मान्छे नियुक्त गर्न आफूलाई बदनियतपूर्वक निष्काशन गरेको बताएकी छन् ।

‘मैले स्थापनाकालदेखि विद्यालयमा स्वयमसेवक भएर बालशिक्षकका रूपमा १३ वर्ष काम गरेँ तर पारिश्रमिक तोकिएपछि चाहिँ बदनियतपूर्वक तलब खुवाउने बजेट छैन भन्ने बहाना गरेर आफ्ना मान्छे राख्न मलाई निकाले’, रोजगारीका लागि हारगुहार गर्न विराटनगर आएकी लक्ष्मीदेवीले भनिन् । उनका अनुसार बजेट अभावमा शिक्षिकालाई तलब खुवाउन नसकेर अवकाश दिएको भनिए पनि विद्यालयमा बाल कक्षा भने खारेज भएको छैन ।

एउटा हात र खुट्टा पक्षघात भएर अपांगता भएकी अधबैँशे उमेरकी लक्ष्मीदेवीले आफ्नो रोजगार सुरक्षित गरिदिएर बाँच्न पाउन अधिकारको संरक्षण गरिपाउँ भन्दै शिक्षा समन्वय इकाई मोरङ, राष्ट्रिय अपांग महासंघ, अपांग मानव अधिकार केन्द्र, राष्ट्रिय मानव अधिकार आयोग, शिक्षक संगठन र पत्रकार महासंघलगायत संस्थाहरूमा ज्ञापन दिएकी छन् ।

देशको संविधान र नीति सिद्धान्तअनुसार अपांगता भएका व्यक्ति त्यसमाथि महिलालाई विशेष अधिकारसहित संरक्षण गर्नुपर्नेमा बिगतमा गरेको योगदानको समेत ख्याल नगरी बदनियतपूर्वक रोजगारी खोसेर आफूमाथि अन्याय गरेको उनको आरोप छ ।

१३ वर्षअघि मासिक ५ सय रुपैयाँबाट आफूले विद्यालयमा बाल शिक्षकका रूपमा सेवा गरेको र बालबालिकाहरूलाई चित्त बुझ्दो ढंगले पठनपाठन गराउँदै आएको उनले बताएकी छन् । गहभरि आँसुपार्दै लक्ष्मीदेवीले प्रश्न गरिन्, ‘स्वयंसेवा गरुञ्जेल सबैलाई ठीकै थियो तर पारिश्रमिक तोकिएपछि चाहिँ म शारीरिक अपांगता भएकी र अनुहार पनि तर्साउनेजस्तो भयङ्कर भएकी कसरी हुन्छु ?’

Loading...