‘साङ्लो’को गीत रिलिज, विराज र निकिताको नृत्य (भिडियोसहित)

विराटनगर, १३ मंसिर । चर्चित अभिनेता विराज भट्टको अभिनय तथा निर्देशन र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यु रहेको फिल्म ‘साङ्लो’को नयाँ गीत सार्वजनिक भएको छ ।

‘चरीले काफल’ बोल रहेको गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको गीतमा गायिका मिलन नेवारले साथ दिएकी छन् ।

लोकलयमा आधारित गीतमा विराजसँगै निकिताको प्रस्तुति देख्न सकिन्छ । गीतको भिडियोलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । गीतको अडियो र भिडियो दुवै राम्रो रहेको र विराज र निकिताको केमेस्ट्री सुहाएको देखिन्छ ।

निकिताको डेब्यू फिल्म भएका कारण उनको अभिनय कस्तो होला भन्ने सोच रहेका गीत दर्शकहरूले गीतको भिडियोमा उनको एक्सप्रेसन र हाउभाउले राम्रो अभिनय गरेको हुनसक्ने प्रतिक्रिया दिँदै आएका छन् ।

किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीहरू प्रेमी, प्रेमिका हुँदै श्रीमान्–श्रीमति बनेको देखाइएको छ । फिल्ममा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरि, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलागयतको कलाकारहरूको अभिनय रहेको छ ।

मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बूले संगीत भरेका छन् । फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मलाई भोजपूरी भाषामा पनि डब गरिएको छ । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...