fbpx

प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमा बस्नुपर्ने

काठमाडौं, १३ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरी शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको हो ।

साथै प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरूले उनी एक सातामा डिस्चार्ज हुने जानकारी दिएका छन् । प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंह शाहले सोचेको भन्दा बढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘हामीले अपेक्षा गरेको भन्दा बढी स्वास्थ्यमा सुधार आएको छ । उहाँ अहिले खाना खान थाल्नु भएको छ ।’

यस्तै शाहले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा कुनै हतारो नभएको बताइन् । उनले भनिन्, ‘यो अप्रेसनले मिर्गौला प्रत्यारोपणमा कुनै असर गर्दैन । मिर्गौला प्रत्यारोपण नेपालमा पनि हुनसक्छ, बाहिर पनि हुनसक्छ । तर, हामी नेपालमै गर्न सक्षम छौँ ।’

यसैगरी डा. रमेश सिंह भण्डारीले भने, उहाँलाई एक हप्तामा डिस्चार्ज गरिन्छ । १० दिनमा उहाँ अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीलाई गत मंगलवार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

Loading...