फ्राइडे रिलिज : आज हलमा सुमीको ‘सरौतो’ र यशराजको ‘लभ यु हमेशा’

विराटनगर, १३ मंसिर । फ्राइडे रिलिजअन्तर्गत आज मंसिर १३ गतेका दिन तिन नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । हरि हुमागाइँको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘सरौतो’को र भास्कर प्रधानको निर्देशनमा तयार भएको फिल्म ‘लभ यु हमेशा प्रदर्शनमा आएका छन् ।

साथै प्रचारमा नाम समेत नसुनिएको नेपाली फिल्म ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएको छ । नेपाली वक्सअफिसमा अभिनेत्री सुमी मोक्तान स्टारर ‘सरौतो’ र अभिनेता यशराज गराच स्टारर ‘लभ यू हमेशा’को भिडन्त हुने देखिन्छ ।

सुमीको ‘सरौतो’ एक्सन ड्रामा हो भने यशराज ‘लभ यू हमेशा’ एउटा त्रिकोणात्मक प्रेमकथा हो । प्रचारमा सुस्त देखिएको र मल्टिप्लेक्समा न्यून शोसहित रिलिज भएको यी दुई फिल्मलाई हलमा टिक्ने चुनौती रहेको देखिन्छ । ’सरौतो’मा सुमीका साथ अभिनेता सन्नी सिंहसँग, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतको कलाकारहरूको अभिनय रहेको छ ।

राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको यस एक्सन फिल्म ‘सरौतो’मा चर्चित र्यापर समीर घिसिङ अर्थात् ‘भिटेन’ ले र्याप हानेका छन् । प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ यु हमेशा’ फिल्ममा अभिनेता यशराज गरच र नव अभिनेत्री फिजा योन्जनको साथ ऋचा थापा, शिशीर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको अभिनय रहेको छ ।

फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा छायांकन गरिएको हो । यी तीन नेपाली फिल्मका साथै बलिउड फिल्म ‘कमान्डो ३’ र हलिउड एनिमेटेड थ्रिडी फिल्म ‘द एडम्स फेमिली’ पनि प्रदर्शनमा आएका हुन् ।

Loading...