fbpx

विभेदको विद्रोहले जन्माएको नेतृत्त्व : माननीय जसमाया गजमेर

इलामको फाकफोकथुममा जन्मिएकी जसमाया गजमेरले दुर्गम ठाउँमा गरिब परिवारले कस्तो दुःख भोग्नुपर्छ बुझेकी छन् । अझ आफू दलित समुदायको पनि भएकोले एउटा निर्धन दलित परिवारले कति धेरै जातीय विभेद र छुवाछुतको व्यहार भोग्नुपर्छ र त्यसको असर कस्तो पर्छ भन्ने उनले प्रत्यक्ष भोगेकी छन् ।

afd

….

जसमायाले अहिले पनि भुलेकी छैनन् घरसमाज मात्र नभएर विद्यालयमा पानी खाँदा पनि भोग्नुपरेको छुवाछुतको व्यवहारलाई । धनी र उँचो जाति भनाउनेहरूले जातीय गालीगलौज गर्दै होच्याएका व्यवहार त झन् कति हो कति ! मान्छेले मान्छेलाई सानो जाति भन्दै छुवाछुत गर्दा मनमा कस्तो चोटपर्छ भन्ने दुखाइ जसमायाले प्रत्यक्ष महशुस गरेकी छन् । सानो छँदा जसमाया भन्थिन्ः– “छुवाछुतको व्यवहार के हो बुझ्ला ऊ त्यत्तिखेर, तिमी पनि हामीजस्तो दलित भइहेर ।”

….

सामान्य बालीघरे परिवारमा जन्मिएर दुर्गम पहाडमा हुर्किएकी जसमायालाई जातीय विभेद र छुवाछुतको पीडाले नै हो राजनीतिमा लाग्न प्रेरित गरेको । उनीगाउँको इकाई कमिटीदेखि जिल्लामा महिला संघको नेतृत्त्व हाँक्दै हाल प्रदेशसभा सदस्य बन्न सफल भएकी छन् । जसमायाले भातृ संगठनमा केन्द्रीय सदस्यसम्मको नेतृत्त्व सम्हालिसकेकी छन् । जस्तोसुकै गरिबीको सामना गर्नुपरे पनि उनले पार्टीमा आफ्नो सक्रियता छाडिनन् । पार्टीप्रतिको निष्ठा र निरन्तर सक्रिय संघर्षको यात्राले नै हो उनलाई एक नम्बर प्रदेशसभाको सांसद बनाएको ।

….

माननीय जसमाया धैर्यशाली छन् । काममा हतार गर्दिनन् । लोभ र छलछाम रुचाउँदिनन् । दोधारे चरित्र मन पराउँदिनन् । आफ्नो अडानमा दृढ हुनु उनको थप विशेषता हो । यसैले प्रदेशसभामा प्यारप्यार पनि बोलिरहन्नन् उनी । तर सबै बैठकहरूमा सहभागी हुन चाहिँ छुटाउँदिनन् । बोल्दा आफ्नो समुदाय, अनि महिला र बालबालिकाहरूले भोग्नुपरेको समस्या मनैदेखि उठाउँछिन् । सांसद भएपछि जसमायाले निरन्तर महिलाहिंसा, छुवाछुत, विभेदजस्ता सामाजिक समस्याबारे संसदमा आवाज उठाइरहेकी छन् ।

….

सन्तुलित र सभ्यबोली । अध्ययन–अनुसन्धानसहितको समय सान्र्दभिक सचेत ज्ञान । जहिल्यै सिक्ने तत्परता । शिष्ट पहिरन र अरुसँग गर्ने मर्यादित व्यवहार । यस्ता धेरै विशेषताले जसमायालाई भावीमन्त्री वा सभामुख हुनुपर्ने व्यक्ति पनि भन्ने गर्छन् उनका शुभेच्छुकहरू ।

….

२०३४ सालमादुर्गम पहाडी क्षेत्रमा जन्मिएकी जसमाया माननीयको बुबाआमा बालीघरे प्रथाबाट जीवन गुजार्थे । वर्षभरि कपडा सिलाउनु र हिउँदमा उनीहरूबाट धान संकलन गरेर गर्जो टार्नुपर्ने बाध्यता थियो परिवारमा । दुई दाजुभाइ र तीन दिदीबहिनीसहितको परिवारलाई धौ–धौ थियो खान–लाउन । तर पनि जसमायाले ७ कक्षासम्म गाउँमै पढिन् । पढाइ राम्रो भएकोले सदरमुकाम इलामको महेन्द्ररत्न माविबाट एसएलसी गरिन् । र इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन गरिन् ।

….

स्कूल पढ्दा जसमायालाई बाम राजनीतिले आकर्षित गथ्र्यो । गाउँमा धनबहादुर दर्लामी, लेखनाथ खनाल जस्ता बाम नेताहरू आइरहन्थे । उनीहरू गाउँ डुल्दा भन्ने गर्थेः ‘कम्युनिष्टको सरकार बनाउनुपर्छ, अनि मात्र जातपात, सानो ठूलो उँचनिच, छुतअछुत र धनीगरिब भन्ने गलत रीतिथिति समाप्त हुन्छ ।’ उनीहरूका कुरा सुन्दा आनन्दित हुन्थिन् जसमाया । अनि मन पराउँथिन् रेडियोमा गुञ्जिरहने गीत ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो जीवनदेखि थाकेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन ।’

sadf

यसैले विस्तारै जसमायाले कम्युनिष्ट विचार मन पराउन थालिन् । आहा ! कम्युनिष्टको सरकार आयो भने त हामी जस्ता गरिब दतिलहरू पनि अरुजस्तै बराबर हैसियतका हुनेरहेछौं, हामीहरूलाई पनि समाजमा समान व्यवहार हुनेरहेछ भन्ने विश्वास बढ्थ्यो उनमा । र, उनी विद्यार्थी जीवनमै गाउँमा गीत गुनगुनाउँथिन् : “जाति र पाति छुट्याउने रीतलाई म मान्दै मान्दिँन, धनी र गरिब बताउने रीतलाई म गन्दै गन्दिँन ।”

….

जसमायालाई सम्झना छ २०४६ सालको आन्दोलनको त्यो समय । बाम विचारधारामा आकर्षित भएपछि त्यो बेला उनी स्कुलमा अनेरास्ववियु प्राकको सदस्य बनिन् । जसले उनलाई गाउँघरमा बाम विचार छर्न प्रेरित गरायो । स्कुलमा छँदै उनी एमाले निकट उत्पीडित जातीय मुक्ति समाजको क्षेत्रीय कमिटीमा पनि आवद्ध भइन् र जिल्ला कमिटीसम्म पुगिन् । पछि जसमाया, मुक्ति समाजको मेची अञ्चल कमिटी सदस्य हुँदै केन्द्रीय सदस्य समेत बनिन् । उत्पीडित दलित जातीय विकास समितिको सदस्य पनि भइन् ।

….

२०५३/०५४ तिर इलाम क्याम्पसमा पढ्थिन्, जसमाया । क्याम्पसमा उनी स्ववियु सदस्य थिइन् । आईए पढिसकेपछि उनको झापा बुधबारेका मोहन विश्वकर्मा ( दर्नाल)सँग विवाह भयो । झापा आएपछि पनि उनले राजनीति छाडिनन् । राजनीतिमा लाग्न उनका पति मोहनले पनि निरन्तर प्रेरित गरे । आफूले काम गरे तर जसमायालाई अगाडि बढ्न सघाइरहे । झापा आएपछि २०६३ मा एमाले क्षेत्रीय समन्वय कमिटीमा आवद्ध भइन्, जसमाया । अनि संगठन विभाग सदस्य हुँदै जिल्ला कमिटी सदस्य बनिन् । जसमायाले अनेम संघ झापाको नेतृत्व पनि गरिन् । हाल उनी नेकपा प्रदेश कमिटी सदस्य छिन् ।

….

काँधमा जिम्मेवारी, हृदयमा समझदारी, काममा साभेदारी, दिमागमा समझदारी हुनुपर्छ भनेर हेक्का राख्ने माननीय जसमाया, प्रदेश संसद भएपछि पनि फेरिएकी छैनन् । अझै पनि सार्वजनिक बस चढेर उनी झापा–बिर्तामोडस्थित घरबाट विराटनगर प्रदेशसभा संसद र समितिको बैठक मात्र नभइ सार्वजनिक कार्यक्रमहरू पनि भ्याइरहेकी छन् । सांसद भएपछि कानून कसरी निर्माण गर्नुपर्दो रहेछ भनेर अनुभव हासिल गर्न सफल भएकी छन् जसमायाले । तर संसद भएर गर्न बाँकी अझै धेरै काम रहेको उनी बताउँछिन् ।

समान व्यवहार भएको भए आज नेपाली दलितहरूको आर्थिक अवस्था धेरै माथि उठिसक्ने थियो

जातीय विभेद र छुवाछुतलाई कानून र संविधानले अपराध घोषणा गरिसके पनि अझै व्यवहारमा कायमै रहेकोमा चित्त कटक्क खान्छ, जसमायाको । विभेद र छुवाछुतले पीडितमा हिन भावना ल्याउने भएकोले गरिबी बढाउन सहयोग पुर्‍याएको उनी मान्छिन् । भन्छिन्ः “समान व्यवहार भएको भए आज नेपाली दलितहरूको आर्थिक अवस्था धेरै माथि उठिसक्ने थियो ।” यसैले दलितहरूका लागि एक नम्बर प्रदेशमा सशक्तीकरण गर्ने कानून निर्माण गनुपर्छ भन्ने पक्षमा छिन् उनी । जसले जातीय विभेद र छुवाछुत गर्ने र दलितहरूलाई सहभागिताबाट वञ्चित गराउनेहरूलाई जवाफदेही बनाउन मदत्त पुर्‍याउँछ । सुलभ स्वास्थ्य, शिक्षा, रोजगार अनि महिलाहिंसा मुक्त समाज बनाउनका लागि थप कानून आवश्यक भएको पनि सांसद जसमायाको ठहर छ ।

….

महिला माननीय जसमायामा भुक्तभोगी दलित समुदायकै भएकोले धेरैपटक सामाजिक विभेदको शिकार बन्नु परेको अनुभवको भण्डार छ । उनलाई अझै पनि झल्झली याद आइरहेको छ, स्कूलमा पानी खाँदा पनि छुवाछुतको व्यवहार भोग्नुपरेको घटना । दलित गरिब भए पनि जसमाया पढ्न सिपालु थिइन् । अरुबेला सानो जातको भनेर होच्याएर व्यवहार गर्ने साथीहरू जब परीक्षाको समय आउँथ्यो उनलाई माया गर्न थाल्थे । कारण जसमायाले सिकाइदेओस् भन्ने चाहना राख्थे उनीहरू । जसमायाले बिर्सेकी छैनन् बुबाआमाले मैला, जुम्राले भरिएका, पुराना लुगाहरू काटकुट गरेर हाते मेसिनबाट सिलाएर विष्टहरूकोमा जदौ हजुर भन्दै पुर्‍याइदिएको । र, उनले बिर्सेकी छैनन् वर्षभरि लुगा सिलाएवापतको अन्न लिन जाँदा उभ्रेपाभ्रेका खोस्टा धानहरू दिएर पठाएको ।

कसैले हेर न कमिनी पनि माननीय भई भनेर भन्दा पनि होलान् तर म वास्ता राख्दिँन

त्यत्तिमात्र हैन उनलाई अझै याद छ इलाममा पढ्दा डेरामै छुवाछुत भोग्नु परेको । र, राजनीतिक यात्रामा पनि उनले पटकपटक प्रत्यक्ष–अप्रत्यक्ष छुवाछुतको व्यवहार भोग्नु परिहेको छ । सांसद भएपछि चाहिँ जसमायाले प्रत्यक्ष छुवाछुतको व्यवहार भोग्नुपरको छैन । बाँकी पछाडि कसले के भन्छन् भन्ने जसमाया वास्ता पनि गर्दिनन् । तपाईंको प्रगतिमा आरिस गर्नेहरूले अप्रत्यक्ष छुवाछुत त अझै गर्छन् होला नि त ? भन्ने प्रश्नमा जसमाया भन्छिन्ः “कसैले हेर न कमिनी पनि माननीय भई भनेर भन्दा पनि होलान् तर म कसैको दयाले हैन मैले समानुपातिक र समावेशी अधिकारले पद प्राप्त गरेको हुँ । देशको सार्वभौम सम्पन्न नागरिक भएकोले सांसद भएको हुँ ।”

….

एक नम्बर प्रदेशसभामा ९३ जना सांसद छन् । महिला सांसदहरूको सख्या २५ छ । दलित समुदायका सांसद भने ३ जनामात्र छन् त्यो पनि महिला मात्र । मुख्य प्रतिपक्षी दल काँग्रेसबाट कल्पना सरदार एक जना र सत्ताधारी नेकपाबाट जसमाया र उमीता बराइली दुई जना ।

….

प्रदेश सरकार गठन भएको दुई वर्ष बित्दैछ । सात वटा मन्त्रालयमध्ये २ वटाले अझै मन्त्री पाएका छैनन् । काम बढ्न थालेकोले मन्त्रालयको संख्या बढाउने चर्चा पनि चलेको छ । र चाँडै एक नम्बर प्रदेश सरकारले विस्तारसहित पूर्णता पाउने मन्त्री र मुख्यमन्त्रीहरूले बताउँदै आएका छन् । विस्तार गर्दा महिला र दलितलाई मन्त्रीमण्डलमा समावेश नगरेको भनेर चर्को आवाज पनि सरोकारवालाहरूले उठाइरहेका छन् ।

मन्त्री हुनुपर्छ भनेर म मरिहत्ते पनि गर्दिँन तर पार्टीले दियो भने अवश्य केही गरेर देखाउनेछु

मुख्यमन्त्री शेरधन राईले महिला र दलितलाई जसरी पनि मन्त्रीमण्डलमा समेट्ने वचन दिइसकेका छन् । यसैले धेरैले जसमायालाई भावी प्रदेशमन्त्रीका रूपमा पनि नियालिरहेका छन् । माननीय जसमायाले पदकै लागि भनेर चलखेल कहिल्यै गरिनन् । उनका अनुसार उनी यसोउसो गर्न जान्दिनन् पनि र स्वभाव पनि छैन । पार्टीले जिम्मेवारी दिएमा चाहिँ कोहीभन्दा कम हुन्नँ भन्ने उनलाई विश्वास छ । भन्छिन्, “मन्त्री हुनुपर्छ भनेर म मरिहत्ते पनि गर्दिँन तर पार्टीले दियो भने सदाचारी र निर्भिक ढंगले अवश्य केही गरेर देखाउनेछु ।”

….

काम गर्ने जोश–जाँगर र सुझबुझ भएकी जसमायाले मन्त्री भएमा केही गरेर देखाउन सक्ने धेरैको दाबी छ । यसैले जसमाया जहाँ–जहाँ बोल्छिन् त्यहाँ उनको भनाइ सुनेर मान्छेहरू भन्ने गर्छन् “यी माननीय त बडो तार्किक र मार्मिक बोल्दिरहिछन् त !” त्यहाँ तुरुन्त छलफल पनि चल्ने गर्छः “मन्त्री हुने क्षमता भएकी माननीय हुन् अनि बोल्दिनन् त ? अरु जस्तो हो र ?”

Loading...