fbpx

अब विवाह गर्नका लागि तीन महिना तालिम लिनुपर्ने !

एजेन्सी, १२ मंसिर । परम्परागत रूपमा विवाह हुनका लागि केटाकेटीको मन मिल्नेदेखि लिएर घरपरिवारको स्वीकृति अनिवार्य हुने गर्छ । तर, अब विवाह गर्नका लागि परीक्षा पास गर्नुपर्ने नियम सुरु हुने भएको छ ।

इण्डोनेसियामा विवाह गर्नका लागि ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुने भएको हो । ‘द जकर्ता पोस्ट’को रिपोर्टअनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री–वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्री मुहद्जिर इफेंदीका अनुसार उक्त पाठ्यक्रम अर्को वर्षदेखि सुरु गरिने भएको हो । उक्त पाठ्यक्रममा विवाहका लागि चाहिने हरेक ज्ञान, प्रजनन स्वास्थ्य र बच्चाको स्याहार कसरी गर्ने, पारिवारिक समस्याको समाधान कसरी गर्ने, रोकथाम तथा घरेलु अर्थशास्त्रका विषयहरू केटा र केटी दुवैलाई सिकाइने भएको छ ।

साथै, युवाहरूलाई जीवनमा बिहेपश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरी, वैवाहिक जीवनका समस्याहरूलाई सहजै हल गर्न र दाम्पत्य जीवनका समस्या सम्बन्ध नटुटोस् भनेर सिकाइनेछ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

यो कोर्स ३ महिनाको हुनेछ र कोर्स सकेपछि प्रमाणपत्र पनि दिइने भएको छ । यो पढाइ पूरा नगरीकन कोही पनि बिहेका लागि योग्य नहुने र पाठ्यक्रमको पढाइ पास गरेपछि मात्र मात्र बिहे गर्न पाउने नियम लागू हुने भएको छ ।

Loading...