fbpx

विराटनगर स्नातकोत्तर क्याम्पसको ‘बोटानिकल गार्डेन’ अधुरो

यज्ञ अधिकारी/सुरेन्द्र मल्ल
विराटनगर, १२ मंसिर । विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराएर पठनपाठन गराउने र घुमफिर र अध्यन अनुसन्धानका लागि पनि उपभोगी हुने उद्देश्यले स्नातकोत्तर क्याम्पस विराटनगरमा निर्माण सुरु गरिएको वनस्पति उद्यान (बोटानिकल गार्डेन) आर्थिक अभावले पूर्ण रूपमा सञ्चालन हुन पाएको छैन ।

विराटनगर महानगरपालिका–१२ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान ब्लकमा दुई करोड बजेट लागत अनुमान गरेर चार वर्षअघि निर्माण सुरु गरिएको उक्त बोटानिकल गार्डेनलाई हालसम्म सरकारले दुई चरणमा बीस लाख रुपैयाँ मात्र दिएको छ ।

हेरालु राख्न पनि बजेट अभाव

सरकारले दुई चरणमा १० दश लाख गरेर दिएको बजेटले गार्डेनमा घेरावारा गर्न र बिरुवाहरू रोप्न मात्र पुगेको छ । आर्थिक अभावले गार्डेनक संरक्षण गर्न हेरालुसमेत राख्न नसकेको गार्डेनका परिकल्पनाकार स्नातकोत्तर क्याम्पसका प्राध्यापक डाक्टर प्रकाश यादवले बताए ।

सरकारले चासो दिएमा देशकै नमुना बोटनिकल गार्डेन निर्माण हुनसक्ने र त्यसले विद्यार्थीको पठनपाठनमा मात्र नभएर पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने प्राडा यादव बताउँछ ।

औषधीय गुण भएका औषधि रोपिएका छन्

हाल गार्डेनमा औषधीय गुण भएका वनस्पतिहरू राजवृक्ष, सर्पगन्धा, तुलसी, हर्रो, जामुनलगायतका वनस्पतिहरू रोपिएका छन् । गार्डेनमा पोखरी खनिए पनि पानी अभावले माछा पालन सुरु हुन सकेको छैन । पानीको प्रबन्ध भइसकेपछि पोखरीमा विभिन्न जात र उमेर समूहका माछा पाल्ने योजना छ । पोखरीमा माछा पालन सुरु भएपछि आम्दानी पनि हुने र त्यसले गार्डनेको संरक्षणमा सहयोग पुर्‍याउने छ ।

आर्थिक अभावले समयमा सरसफाइ गर्न नहुँदा गाडर्नेमा मिचाहा प्रजातिका झारहरू बढेका छन् । जसले औषधीय वनस्पतीहरूको पोषकतत्त्वमा हानी पुर्‍याउने र गार्डेनको सौन्दर्यसमेत नाश गरिरहेका छन् ।

दुई करोडको योजना तर २० लाख मात्र प्राप्त

स्नातकोत्तर क्याम्पसको आफ्नै डेढ विगाहा जमिनमा फैलिएको बोटानिकल गार्डेन बनाउन हालसम्म वन मन्त्रालयले दुई चरण गरेर दश १० लाख रुपैयाँ मात्र उपलव्ध गराएको छ । चालु वर्षमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि १० लाख रुपैयाँ मात्र विनियोजन गरिदिएको छ ।

पूर्ण बजेट प्राप्त नभएसम्म अपेक्षाअनुसारको गार्डेन तयार हुन नसक्ने गार्डेनको रेखदेख गरिरहेका प्राडा यादवले वताए । उनका अनुसार औषधि उत्पादनमा प्रयोगमा आउने वनस्पति, हरित उद्यान, लोप हुने जीवजन्तु तथा वनस्पति राख्ने म्युजियम तथा सीड बैंक स्थापन गर्ने योजनासहित गार्डेनको निर्माण सुरु गरिएको हो ।

Loading...