fbpx

पचहत्तर रुपैयाँ जरिवाना तिर्न अटेर गर्दा हिरासतमा बास

विराटनगर, १२ मंसिर । आऽऽकस्ले के गर्छ र भन्दै अदालतले सजाय स्वरुप तोकेको ७५ रुपैयाँ जरिवाना तिर्न अटेर गर्दा विराटनगरबाट १६ जनाले एकै दिन हिरासतमा बास बस्नु परेको छ । जिल्ला अदालत मोरङले जुवा अपराधमा तिर्न फैसाल गरेको ७५ रुपैयाँ जरिवाना नतिरी अटेर गरेर बसेका विराटनगर महानगरपालिका– ६, ७ र ११ नम्बर वडाबाट १६ जनालाई फैसला कार्यान्वयन गराउन प्रहरीले पक्राउ गरेपछि सबैले एक दिन हिरासतमा बास बस्नु परेको हो ।

अदालतको फैसला कार्यान्यवयन अभियानअन्तर्गत प्रहरीले ८ मंसिर एकै दिन ४६ जनालाई पक्राउ गरी ९ मंसिरमा अदालतमा बुझाएको थियो । प्रहरीले बुझाएकामध्ये १६ जना जुवा ऐनअन्तर्गत ३ असार २०७१ मा मोरङ अदालतबाट जनही ७५ रुपैयाँ बुझाउन अटेर गर्ने फरार प्रतिवादीहरू थिए ।

जसले बुझाउन अटेर गरेका थिए अदालतलाई ७५ रुपैयाँ जरिवाना

अदालतले विराटनगर–६ का अरुण सहनी, पिन्टु पाशवान, वीरेन्द्र सहनी, रवीकुमार मुखिया, विमल मुखिया, विराटनगर–७ का सत्यनारायण भगत, विराटनगर–११ का शम्भु सहनी विराटनगर–६ कै हरिशचन्द्र सहनी, रामथान साहलाई जनही ७५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस्तै विराटनगर–११ का श्यामबहादुर साह, दीलिप सहनी, विराटनगर–६ का नागेन्द्र दास, महमद स्वराती, सागर शर्मा, सञ्जय शर्मा, सञ्जय महतो र विराटनगर–७ का अरुण सहनीलाई पनि ७५ रुपैयाँ जरिवाना तोकेको थियो । मंसिर ८ गते पक्राउ परेका उनीहरू जरिवाना तिरेर छुटिसकेका छन् ।

एकैदिन पक्राउ पर्ने अरु फरार प्रतिवादीरू

प्रहरीले चोरी मुद्दामा एक महिना कैद र १३ हजार जरिवाना तोकेका विराटनगर–१ का अमनकुमार सहनीलाई पक्राउ गरी अदालतमा बुझाएको छ । लागूऔषध मुद्दामा २ सय ७५ रुपैयाँ जरिवानाको फैसला भएका विराटनगर–१ का सुनिल कामत, सवारी ज्यान मुद्दामा दुई हजार जरिवाना तोकिएका विराटनगर–४ का अशोककुमार चौहान, केही सार्वजनिक अपराध मुद्दामा एक हजार ५ सय ५० रुपैयाँ जरिवाना तोकिएका विराटनगर–४ का राजेश चौधरी, पाँच हजार जरिवाना तोकिएका विराटनगर–११ का मिलक कार्की पनि पक्राउ परेका थिए ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत विराटनगर–४ का आनन्दलाल कामत, विश्वकुमार कामत र सुनिलकुमार कामत पनि पक्राउ परेका थिए । तीन जनालाई अंश अपचलन मुद्दामा ३ हजार ३ सय ४२ रुपैयाँ जरिवाना फैसला भएको थियो । जरिवाना रकम तिरेपछि उनीहरू छुटिसकेका छन् ।

लुटपाट गरी कुटपिट गरेको मुद्दामा विराटनगर–४ का सुनरवी उराउ, सम्पतलाल उराउ, सकुन्तला उराउ, मेघलाल उराउ, पुनम उराउ, कविताकुमारी उराउ पक्राउ परेका थिए । उनीहरूलाई २०७२ साल जेठ ११ गते छुट्टा–छुट्टै घटनामा जनही एक हजार १० रुपैयाँ, ३ हजार ९ सय ८ रुपैयाँ ५ हजार १० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । जरिवाना तिरेपछि उनीहरू छुटेका छन् ।

अदालतको लगत कट्टा नहुँदा पुनः पक्राउ

फैसला कार्यान्यन अभियानअन्तर्गत पक्राउ परेका एक व्यक्तिले भने अदालतमा लगत कट्टा नहुँदा दुःख पाएका छन् । चोरी मुद्दामा १२ हजार ३ सय ५० रुपैयाँ र २५ हजार जरिवानाको फैसला भएका विराटनगर–६ का अनिलकुमार मण्डलले पहिले नै जरिवाना तिरेका थिए ।

२०६८ भदौं १७ र २७ गतेको फैसलाअनुसार मण्डलले जरिवाना तिरेपनि अदातले लगत कट्टा नगरी विवरण पठाउँदा उनी पक्राउ परेको प्रहरीले बताएको छ । अदालतमा उपस्थित भएपछि उनी छुटेका थिए ।

फैसला कार्यान्वयन गराउन सक्रियता

मोरङ प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन सक्रियता बढाएको छ । थोरैभन्दा थोरै जरीवना नबुझाउने र कैद सजाय भुक्तान नगर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाउन थालेको छ । अदालतको फैसलालाई सम्मान नगरेसम्म दण्डहिनता कायमै रहने भएकोले आदेशअनुसार साना–ठूला सबैखाले फरार प्रतिवादीहरू खोजी गरेर पक्राउ गरी अदालतमा बुझाउन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजूले बताए ।

Loading...