माइकल ज्याक्सनको जीवनमा फिल्म बन्ने

विराटनगर, ११ मंसिर । पछिल्ला वर्षहरूमा हलिउडमा समेत म्युजिकल बायोपिक बनाउने लहर चलिरहेको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बोहेमियन र्‍यापसोडी’ म्युजिकल बायोपिकमा आधारित रहेर निर्माण गरिएको थियो । म्युजिकल बायोपिक बन्ने क्रममा ‘किङ अफ पप’ मानिने गायक माइकल ज्याक्सनको बायोपिक निर्माण हुने खवर सार्वजनिक भएको छ ।

माइकल ज्याक्सनको जीवनीमा आधारित भएर फिल्म निर्माण गर्ने अधिकार ‘बोहेमियन र्‍यापसोडी’ कै निर्माता ग्राहम किङले पाएका हुन् । स्टारडमको उँचाइ छुन पाएका माइकल ज्याक्सनको जीवन जति रंगीन देखिए पनि वास्तवितामा त्यतिकै अँध्यारो रहेको थियो । साथै, उनको सन् २००९ मा रहस्यमय रुपमा निधन भएको थियो ।

बायोपिक फिल्ममा ज्याक्सनले बाल कलाकारको रुपमा करिअर शुरु गरेकोदेखि विश्वव्यापी रुपमा कमाएको प्रसिद्धिसम्मको विषय समेटिने र उनका विवादका अनेक पाटो समेत आउने फिल्मका निर्माताले बताएका छन् । उनीमाथि यौन शोषणको गम्भीर आरोप समेत लागेको थियो ।

फिल्मको स्क्रिप्ट सन् २०००मा प्रदर्शनमा आएको फिल्म ‘ग्लाडिएटर’बाट ओस्कर अवार्डको मनोनयनमा परेका लेखक जोन लोगानले लेख्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन् । ‘लिभिङ नेभरल्यान्ड’ नामक वृत्तचित्र सार्वजनिक भएपछि वेड रोब्सन र जेम्स सेफचकले आफूहरु सानो छँदा ज्याक्सनले यौन शोषण गरेको आरोप लगाएका थिए ।

Loading...