fbpx

साँघुरो कोठाबाट सेवा सञ्चालन गर्दै त्रिवीको परीक्षा नियन्त्रण कार्यालय

सुरेन्द्र मल्ल

विराटनगर, ११ मंसिर । अतिगोप्य र सुरक्षित हुनुपर्ने भएपनि विराटनगरस्थित त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय भवन अभावमा साँघुरो कोठाबाट सेवा सञ्चालन गरिरहेको छ । २०५४ देखि सम्पर्क कार्यालयका रूपमा सञ्चालन हुँदै आएको विराटनगरस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अझै आफ्नै भवन अभावले क्याम्पसको साँघुरो कोठाबाट कुचुक्क परेर असुरक्षित रूपले सेवा सञ्चालन गर्न बाध्य भइरहेको हो ।

२०५७ देखि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको रूपमा स्तरोन्नति भएपनि विराटनगरस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) अझै स्नाकोत्तर क्याम्पसले उपलव्ध गराएको साँघुरो कोठामै सीमिति छ । सुरुमा ५ वटा कोठा उपलब्ध गराएकोमा काम गर्न असहज भएपछि पुनः २ वटा कोठा थप गरी हाल ७ वटा कोठामा पनिकाले आफ्नो काम गर्दै आइरहेको छ ।

२०६८ देखि कामहरूलाई अझ व्यवस्थित गर्दै आएको यस कार्यालयलाई स्नाकोत्तर क्याम्पसले आफ्नै जग्गाबाट ५ कठ्ठा दिइसकेता पनि अझै भवन निर्माण गर्न सकेको छैन । कर्मचारीको सरुवा, परीक्षा नियन्त्रकहरूको छोटो कार्यअवधि अनि प्रशासनीक कठिनाइको कारणले गर्दा समयमा भवन बन्न नसकेको कर्मचारी शाखा प्रमुख रोहित लामाले बताए । उनका अनुसार त्रिविको पोखरास्थित पनिका कार्यालय भने आफ्नै भवनमा सरिससकेको छ ।

asd

विराटनगरस्थित परीक्षा नियन्त्रण कार्यालयले पहिले पूर्व क्षेत्रका सोह्रैवटै जिल्लाहरूमा उत्तर पुस्तिका, प्रश्नपत्र र लब्धाङ्कपत्र वितरण सबै ठाउँको उत्तरपुस्तिका जम्मा गरी काठमाडौं पठाउनुका साथै स्थानीयस्तरबाटै नै रजिष्ट्रेशन स्लिप पनि वितरण गर्ने र फारम भर्दा भएका त्रुटीहरुलाई सच्याउने र परीक्षाका लागि नियन्त्रकहरू नियुक्त गर्ने काम पनि गर्दछ ।

कार्यरत कर्मचारीहरुका अनुसार साँधुरा थोरै कोठा भएकाले काम गर्न बाधा भइरहेको छ । एउटै कोठामा ३ वटासम्म विभागका काम गर्नुपर्ने हुँदा कहिलेकाँही विद्यार्थीहरूको फारमहरू यताउता हुनसक्ने समस्या पनि देखिएको छ । क्याम्पसमा बस्दै आएको पनिका कार्यालय २०७२ को भूकम्पले गर्दा कञ्चनबारीमा भाडाको कोठामा दुई वर्ष सञ्चालन भएको थियो । तर, आर्थिक अभावले पुनः २०७५ बैशाखमा पहिलेकै स्थानमा आएर सेवा दिन थालेको हो ।

१३ वटा आंगिकसहित पूर्वका दुई सय क्याम्पसअन्र्तगत शिक्षामा १२ हजार, व्यवस्थापनमा १६ हजार, मानविकीमा चार हजार, विज्ञानमा तीन हजार, कानूनमा तीन हजार र पत्रकारितामा १ हजार ५० गरी जम्मा ४९ हजार एकसय ५० जना विद्यार्थीले हाल परीक्षा नियन्त्रण कार्यालयबाट सेवा लिइरहेका छन् ।

Loading...