fbpx

पटक–पटक भागिरहन्छन् सुधार गृहबाट बिज्याइँ गर्ने बालकहरू

सुरक्षित भनिएको विराटनगरस्थित बालसुधार गृहबाट पाँच वर्षमा पाँचपटक सात जना बालक भागिसके । भागेकामध्ये एक जना मात्र वीरगञ्जमा फेला परे ।

विराटनगर, ११ मंसिर । विराटनगरस्थित बालसुधारगृहबाट पटक–पटक कैदीबन्दी बालकहरू भाग्दै आएका छन् । विराटनगर महानगरपालिका–३ मा बालसुधार गृह सञ्चालनमा आएको छ वर्षभित्र पाँच पटकमा सात जना बालक भागिसकेका छन् ।

सुधार गृहका इन्र्चाज मिलन चौहनका अनुसार हालसम्म भागेकामध्ये एक जना बालक मात्र वीरगञ्जबाट फेला परेका छन् । विराटनगरस्थित बालसुधार गृहबाट ९ मंसिर बिहान दुई जना बन्दी भागेका थिए । १६ र १७ वर्षका दुई बालक विराटनगर महानगरपालिका–३ मा रहेको बालसुधार गृहको तीन तलामाथिबाट फाल हानेर सोमबार बिहान फरार भएका हुन् । मोरङ र झापा घर भएका तामाङ र पराजुली थर भएका दुबै बालक ज्यान मार्ने उद्योग र जबर्जस्तीकरणी आरोपमा पूर्पक्षका लागि पाँच महिनादेखि सुधार गृहमा बन्दी थिए ।

sadg

यसभन्दा अघि पनि कोही पर्खाल नाघेर त कोही अस्पतालबाट बालकहरू भागेका थिए । तर, पटक–पटक यसरी कैदीबन्दी अवस्थामा रहेका बालकहरू भागिरहे पनि बाल कल्याण समितिले छानबिन भने गर्ने गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङले चाहिँ डिएसपी राजकुमार खिउजूको नेतृत्त्वमा आन्तरिक छानबिन बनाएको छ ।

यस्तो सुधार गृह भवन

विराटनगर बालसुधार गृहमा एक इन्र्चाज, दुई शिक्षक र दुई सहयोगीसहित ५ जना कर्मचारी छन् । एक बिगाहा जग्गामा २०७० सालदेखि सञ्चालनमा आएको यो सुधार गृहमा तीन वटा भवन छन् । एउटामा बालबिज्याइँमा कैदीबन्दी रहेका बालकहरू सुत्ने गर्छन् । एउटामा विद्यालय र पुस्तकालय छ भने अर्कोमा सुरक्षा व्यारेक र भान्साघर छ ।

होचो कम्पाउण्ड वाल र फित्तलो सुरक्षा व्यवस्था

असईको नेतृत्त्वमा एक पटकमा दुई जना गरेर जम्मा १० जना प्रहरीले सुधार गृहको अगाडि र पछाडि पहरा दिन्छन् । विराटनगरस्थित बालसुधार गृहको वरिपरिको कम्पाउण्ड वाल होचो छ । वालवरिपरि पातलो, सामान्य काँडेतार मात्र लगाइएको छ । जसलाई किशोर उमेरका बालिकहरूले सहजै नाँघ्न सक्छन् । अर्कोतिर बन्दी बालकहरू बस्ने भवन र कम्पाउण्ड वालको दूरी पनि नजिकै छ । दूरी नजिकै भएकैले ९ मंसिरमा दुई जना बालक तीन तलाबाट फाल हानेर सोझै कम्पाउड वाल पारि पुग्न सफल भएका थिए । भवनमा पेचकसले सजिलै खोल्न सकिने ग्रीलहरू झ्यालमा प्रयोग गरिएका छन् । जसलाई पछिल्लो समय भागेका बालकहरूले खोलेर फाल हानेका थिए । अर्को सुधार गृहमा आत्मअनुशासन पनि कमजोर पाइएको छ । कागज मिलाएर बढी उमेरका बालकहरू पूर्पक्षका लागि पठाउने आदि कारणहरूले गर्दा बिज्याइँमा बन्दी भएका बालकहरू पटक–पटक भाग्ने गरेको स्थानीयबासीहरू बताउँछन् । बालसुधार गृह अध्यन प्रतिवेदन–२०७१ ले विराटनगरको सुधार गृहलाई सुरक्षित भनेको छ । तर, सुरक्षित हुँदाहुँदै पनि पटक–पटक बन्दी बालकहरू फरार हुनु रहस्यमय मानिएको छ ।

कागजपत्र मिलाएर बढी उमेरका बालकहरू राखिने गरेको शंका

कानूनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकाहरूले बिज्याइँ गरे सुधार गृहमा राख्नु पर्दछ । तर अपराध ढाकछोप गराउनका लागि उमेर घटाएर कागजपत्र बनाउँदा १७ वर्षभन्दा बढीका बालकहरू पनि सुधार गृहमा पूर्पक्षका लागि पुग्ने गर्दछन् । सुधार गृहका कर्मचारीहरूका अनुसार सोमबार फरार भएका बालकहरूको उमेर कागजमा १६ र १७ भएपनि उनीहरू त्योभन्दा माथिको भएको आशंका छ ।

क्षमताभन्दा बढी बाल कैदीबन्दी

विराटनगरस्थित बालसुधार गृहमा कैद सजाय पाइसकेका र पूर्पक्षका लागि थुनुवामा रहेका जम्मा १ सय ४८ जना कैदीबन्दी बालक छन् । जुन सुधार गृहको क्षमताभन्दा तेब्बर बढी हो । जबकी सुधार गृहको क्षमता जम्मा ५० जना बालक राख्ने मात्र हो । अर्को सुधार गृहको संरचना पनि बढीमा १५ वर्षसम्मका वालकहरूलाई राख्ने खालको छ । तर, आजकल बढी १६ र १७ वर्ष उमेरका बालबिज्याइँ आरोपी बालकहरू आउने गरेका छन् ।

सुधार गृहभित्रको व्यवहार अनुगमन हुँदैन

बालबिज्याइँ गरेका बालकहरूलाई राख्ने सुधार गृहभित्रको व्यवहारमैत्री छ की छैन भनेर अनुगमन गर्ने गरिएको छैन । जानकारहरूका अनुसार क्षमताभन्दा तेब्बर बढी बालबन्दीहरू राखिएको ठाउँमा जेलमा झैँ व्यवहार गर्ने गरिएको छ । उनीहरूमाथि शोषण, अत्याचार भएको छ–छैन, तोकिएअनुसारको सुबिधा प्राप्त भएको छ–छैन, बोलीवचन व्यवहारहरू के कसरी गरिन्छ, शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलाप र खानपानको अवस्था कस्तो छ भन्नेबारे पनि चासो राख्ने गरिएको छैन ।

यसैले राखिन्छ बालबालिकाहरूलाई सुधार गृहमा

सरकारले बिज्याइँ गर्ने बालबालिकाहरूलाई अलग्गै राख्न भक्तपुर, काँस्की र विराटनगरमा बालसुधार गृह संचालनमा ल्याएको छ । सबै बालसुधार गृहको नियमन, सञ्चालन केन्द्रीय बाल कल्याण समितिले गर्दछ । बालबालिका ऐन २०४८ अनुसार ९ वर्षसम्मका बालकलाई अपराधको दायित्व लाग्दैन । १० देखि १४ वर्षसम्मका बालकलाई न्यूनतम र १४ देखि १८ वर्षसम्मका लागि आंशिक दायित्व लाग्दछ ।

Loading...