टेलरले तोडिन् माइकल ज्याक्सनको रेकर्ड ?

विराटनगर, ११ मंसिर । सम्पन्न अमेरिकाको चर्चित अवार्ड ‘अमेरिकन म्यूजिक अवार्ड’मा गायिका तथा रचनाकार टेलर स्विफ्टले नयाँ रेकर्ड कायम गर्न सफल भएकी छन् । नोभम्बर २४ मा सम्पन्न भएको २७औं अमेरिकन म्यूजिक अवार्ड २०१९ मा टेलरले विभिन्न विधामा अवार्ड हासिल गर्दै आफ्नो जीवनकालमा २५औँ अवार्ड हात पार्न सफल भएकी हुन् ।

२५ ओटा अवार्ड हात पर्दै टेलरले स्व. माइकल ज्याक्सनलाई उछिन्दै २०१९ को (एएमए) अमेरिकन म्यूजिक अवार्डमा नयाँ इतिहास बनाएकी छन् । स्व. माइकल ज्याक्सनले आफ्नो जीवनकालमा २४ ओटा अवार्ड पाएर एएमए अवार्डको सर्वाधिक अवार्ड हात पार्ने गायकको रूपमा रेकर्ड बनाएका थिए ।

तर, यो वर्ष ट्रेलरले एएमएको सबैभन्दा ठूलो अवार्ड ‘फेबरेट पप–रक एल्बम’ विधामा अवार्ड हासिल गरेर गायक माइकल ज्याक्सनको स्थान आफनो नाममा पारेर नयाँ रेकर्ड राख्न सफल भएकी हुन् । ‘आर्टिस्ट अफ दी डिकेड’ र ‘आर्टिस्ट अफ दी इयार’, म्युजिक भिडियो, लोकप्रिय आर्टिस्ट तथा लोकप्रिय एल्बमबाट उनले अवार्ड हात पारेकी हुन् ।

साथै, टेलरले ‘फेबरेट पप–रक एल्बम’ विधामा उनले बिली एलिशको ‘ह्वेन अल फल अस्लिप, ह्वेर वि गो ?’ र एरियाना ग्रान्डेको ‘ थ्याङ क्यू, नेक्स्ट’ एल्बमलाई पछि पारेकी हुन् । अवार्ड ग्रहण गर्दै टेलरले उक्त अनपेक्षित अवार्डको लागि सबैलाई धन्यवाद दिएकी छन् । अवार्ड कार्यक्रममा टेलरले आफना केही चर्चित गीतहरूमा प्रस्तुति पनि दिएकी थिइन् ।

Loading...