fbpx

‘नेपालको आधा जनसंख्यालाई मधुमेह रोग के हो भन्ने नै थाहा छैन’

नेपालमा २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । बढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिर्वतन, खानपानमा हेलचेक्र्याइँ आदि अनेक कारणले नेपालमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको बताइन्छ । साथै, पछिल्लो समय नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको संख्या पनि पहिलेको भन्दा धेरै बढ्दै गएको छ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. मनिष दाहाल बढ्दो मधुमेह रोग दीर्घकालीन स्वास्थ्य समस्या मान्छन् । उनी मधुमेह रोगको उपचार र निदानबारे कोशी अनलाइनमार्फत यसरी जानकारी दिन्छन्…

adsf

मधुमेह रोग कति वर्षको उमेर समूहका मानिसलाई धेरै लाग्ने गर्छ ?

पहिला मधुमेह, प्रेसर ४५ देखि ५० वर्षको उमेरमा देखिने गर्दथ्यो । हाम्रो उमेरमा आउँदाखेरि ३०–३५ वर्षको उमेरमा झर्‍यो । अहिले त २५ देखि ३० वर्षको उमेर भएकालाई मोटोपना, मधुमेह तथा प्रेसर देखा पर्न थालिसकेको छ ।

के कारणले गर्दा आजकल कम उमेरमै मानिसहरूलाई यस्ता रोगहरू लाग्ने गरेको होला ?

मानिसहरूमा रोग लाग्नुको दुई कारणहरू छन् । पहिलो रेडिमेड खाना हो । किनभने मानिसहरू घरमा बनाएका खानेकुराहरू खासै खाने गर्दैनन् । दोस्रो हिँड्डुल नभएर, शारीरिक व्यायामको कमी हो । गलत खानपान र शारीरिक व्यायामको कमीका कारण शरीर मोटो हुँदै जान्छ, जसले ओबेसिटी निम्त्याउँछ । सुगर वा मोटोपनाका कारण त्यसबाट मधुमेह र बिस्तारै प्रेसर पनि बढ्दै जाने गर्छ । यी तीन रोगहरू एकअर्काबीच ओरिपरि घुमिरहेका हुन्छन् । ओबेसिटी (शरीर मोटो) भएपछि सुगर र सुगर (चिनी) भएपछि प्रेसर देखा परिरहेको हुन्छ ।

के बच्चाहरूमा पनि यस्तो रोगको समस्या देखा पर्न थालेको छ ?

हो, अहिले २५ वर्षभन्दा कम उमेर भएका युवायुवतीहरूमा समेत देखा पर्न थालिएको छ । अहिलेको उमेरमा आएर यो रोग कम उमेरमा लाग्ने क्रम बढ्दै गएको छ । पहिले ५० वर्षभन्दा धेरै उमेरमा देखा पर्ने रोगहरू अहिले २० देखि २५ वर्षको उमेरमा देखा पर्न थालिसकेको छ । परिवारको सदस्यमा कसैमा पहिलेदेखि सुगर वा प्रेसर थियो भने अहिले उनीहरूको बच्चामा छिटो देखा परिरहेको छ ।

मधुमेह वास्तवमा कस्तो रोग हो र यसका कति प्रकार हुन्छन् ?

मधुमेह भनेको शरीरमा सुगर (चिनी) को मात्रा बढी हुनुलाई मानिन्छ । सुगरबाट कार्बाेहाइड्रेड र इनर्जी पाउने हो । तर, शरीरमा भएको चिनीको मात्रा धेरै हुन गएमा त्यसैलाई चिनी रोग (सुगर) अथवा मधुमेह (डायवेटिज) रोग भनेर बुझिन्छ । मधुमेह खास गरी दुई प्रकारका हुन्छन्, टाइप एक (वान) र टाइप दुई (टु) । शरीरमा रहेको प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट इन्सुलिन भन्ने तत्त्व उत्पादन हुन्छ । जसले शरीरमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ । उक्त ग्रन्थीले इन्सुलिन नबनाएको खण्डमा ‘टाइप १ मधुमेह’ हुन्छ । जुन चाँहि बच्चैदेखि हुने गर्छ । टाइप १ मधुमेह जन्मजात नै मानिसमा आउन सक्छ ।

मधुमेहलाई बेवास्ता गर्दा विस्तारै–विस्तारै यसले शरीरका महत्त्वपूर्ण अङ्गहरूमा ‘अट्याक’ गर्न सक्छ

इन्सुलिन छ, तर पर्याप्त मात्रामा उत्पादन नगरेको खण्डमा अथवा इन्सुलिन पर्याप्त मात्रामा हुँदाहुँदै पनि शरीरले भएको इन्सुलिनलाई राम्रोसँग युटिलाइज गर्न नपाउँदा ‘टाइप टु’ मधुमेह हुनेगर्छ । टाइप २ मधुमेह धेरैजसो मोटो मानिसलाई हुने गरेको पाइएको छ । यसैले मोटोपन सबैभन्दा ठूलो समस्या मानिएको हो । टाइप २ मधुमेह मोटोपना मात्र नभएर पारिवारिक, खानपिनमा लापरवाही, शारीरिक व्यायामको कमीका कारण पनि लाग्छ । यसैले मधुमेहको समयमा उपचार गर्न सकियो भने यो ठूलो रोग होइन । यो रोग लागेका मानिसले पनि सामान्य जीवन जिउन सक्छन् । तर, मधुमेहलाई बेवास्ता गरियो भने विस्तारै–विस्तारै शरीरका महत्त्वपूर्ण अङ्गहरूमा समस्या देखिँदै जान सक्छ ।

के गर्भवती महिलाहरुलाई पनि मधुमेह रोग लाग्छ ?

हो, गभर्मवती महिलाहरूलाई पनि मधुमेह रोग लाग्छ । पहिला मधुमेह नभएको तर गर्भवती भएको २४ देखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भावस्थामा देखिने मधुमेह भनिन्छ । गर्भावस्थामा मधुमेह भएमा शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना अधिक हुनसक्छ ।

मधुमेहका मुख्य जोखिम कारक (रिक्स फ्याक्टर) के हुन् ?

अमेरिकन डाइबेटिक एसोसिएसनले भविष्यमा मधुमेह हुनसक्ने वा नहुने भन्ने पत्ता लगाउनका लागि क्याल्कुलेटर नै बनाएको छ

अहिले टाइप ‘टु’ मधुमेहको लागि भविष्यमा मधुमेह हुन सक्ने वा नहुने भन्ने पत्ता लगाउनका लागि क्याल्कुलेटर नै बनिसकेको छ । अमेरिकन डाइबेटिक एसोसिएसनले बनाएको उक्त क्याल्कुलेटरको प्रयोग गरेर भविष्यमा मधुमेहको जोखिम कतिसम्म हुन सक्छ भनेर पत्ता लगाउन सकिन्छ । अब कसैले मलाई सोध्नुभयो डाक्टरसाहेब मलाई मधुमेह लाग्ने सम्भावना कत्ति को छ ? म आफ्नो मोबाइलबाट उक्त एपले तपाईंको यो रिक्स फ्याक्टरका कारण तपाईंलाई यति प्रतिशत मधुमेह हुने सम्भावना हुन्छ है भन्ने पत्ता लगाइदिन सक्छु ।

मधुमेह रोगलाई साइलेन्ट किलरको नामले पनि चिनिने गरिन्छ किन ?

समाजमा यो रोग एकदम धेरै फैलिसकेको छ । हामीले थाहा पाउन नसकेको मात्र हो । जटिल अवस्थामा पुगेपछि अर्थात् अन्तिम अवस्थामा हातखुटा काट्नुपर्दा मात्र उपचारका लागि आउने गरेको हुँदा यसलाई साइलेन्ट किलर रोग पनि भनिएको हो ।

जति बिरामीहरू उपचारका लागि अस्पताल आउँछन् ती सबैलाई आफू मधुमेहको बिरामी हुँ भन्ने थाहा हुँदैन । कोही आँखाको कोही खुट्टामा घाउ भएको कोही छातीमा इन्फेक्सन भएको उपचार गराउन आउँछन् तर परीक्षण गर्दा मात्र उनीहरूमा मधुमेह भेटिन्छ । किनभने मधुमेहका लक्षण यो मात्रै हो भन्ने हुँदैन र उनीहरूले मधुमेहबाट जानकारी राखेर पूर्वपरीक्षण पनि गराउने गरेका छैनन् ।

मधुमेहका बिरामीहरू अस्पताल आउनेक्रम कस्तो छ ?

बिरामीहरू सुगरको मात्रा ३ देखि ४ सय भएपछि मात्र उपचारका लागि आउने गर्छन् । हाल नेपालको ४ प्रतिशत जनसंख्यामा मधुमेह भएको दाबी छ । तर, आधा मानिसहरूसमेत उपचारका लाािग अस्पताल आएका छैनन् । मधुमेह लागेपछि अथवा लाग्नुभन्दा पहिला के गर्ने भन्ने कुराको बारेमा जानकारी भए मात्रै अस्पताल आउनेक्रम बढ्न सक्छ । नेपालको आधा जनसंख्यालाई मधुमेह भनेको के हो भन्ने नै थाहा छैन ।

मधुमेहको जटिलताका प्रकार कस्ता छन् ?

मधुमेहले निम्त्याउने जटिलतालाई मुख्य गरेर ४ भागमा बाँड्न सकिन्छ । पहिलो आँखा, ढिलो चाँडो सुगरका कारण आँखामा मोतियाबिन्दु लागेर पर्दा धमिलो हुँदै जाने, आँखा देख्न नसकिने समेत हुन सक्छ । दुई नम्बरमा यसले मुटुलाई पनि असर गर्नेगर्छ । मुटुहरूको नालीमा कोलेस्टेरोलहरू भरिएर हृदयघात हुन सक्नेहुन्छ । तीन नम्बरमा यसले किड्नीलाई पनि असर गरिरहेको हुन्छ । किड्नी खराब भएर पूर्ण रूपले काम गर्दैन र किड्नीको काम मेसिनबाट गराउनुपर्ने हुनसक्छ । अन्तिमको अवस्थालाई प्यारालाइसिस अर्थात् पक्षघात भनिन्छ यो पनि मधुमेहका कारण नै हुने गर्छ । लामो समयसम्म सुगरको उपचार नगरेको खण्डमा सुगरले नसाहरू छोयो भने हातखुट्टाहरूले ठोकिएको, तातो–चिसो थाहा पाउन छोड्छन् आफ्नै खुट्टामा भएको घाउ पनि नदेखुन्जेलसम्म दुख्दैन र हातखुट्टामा भएको घाउका कारण हातखुट्टा नै काट्नु पर्ने हुन्छ ।

मधुमेह हुन नदिन र भएमा नियन्त्रण गर्न के गर्नुपर्छ ?

मानिसमा लाग्ने हरेक रोगको निवारण तथा उपचारका लागि दुई–तीन स्टेप्सहरू हुने गर्छन् । पहिलो भनेको रोग लाग्नुभन्दा अगाडि आउने जोखिम कारकहरूलाई कम गर्नु हो । अहिलेका बच्चाहरूलाई नियमित शारीरिक व्यायम गराउनुपर्छ । मोबाइल चलाउन दिनुभन्दा पनि बाहिर गएर खेल्ने बानी बसाउनुपर्छ । उमेरमै हिँड्नुपर्छ, दगुर्नुपर्छ भनेर समयमै सिकाउनुपर्छ । बजारमा पाइने रेडिमेड र जंक फूडभन्दा पनि घरमै स्वास्थ्य तरिकाले बनाएको खानेकुराको सेवन गर्ने गराउने बानी बसाल्नुपर्छ । घरकै खानेकुरामा पनि प्रोटिन (दाल, माछामासु, गेडागुडी कार्बोहाइड्रेटमा (भात, रोटी) सागपातहरू, फलफूल तथा सलादहरूको सेवनमा अनुपात मिलाएर खाने गर्नुपर्छ । धुम्रपान, मद्यपानबाट टाढा बस्नुपर्छ । मोटोपनाबाट टाढै रहनुपर्छ ।

म मधुमेहको मात्र बिरामी हुँ र मैले मधुमेह मात्र नियन्त्रण गरे पुग्छ भन्ने सोच त्यागेर आँखा, मिर्गाैला, मुटु, नसा र खुट्टा जोगाउन पनि विशेष चासो दिनुपर्छ

सुगरको, प्रेसरको, किड्नी तथा मुटुलाई स्वास्थ्य राख्नको लागि स्लोगन नै दिएको छ : दिनमा शरीरिक व्यायामलाई ३० मिनेट देऊ वा हिँड (हप्तामा ६ दिन ) बदलामा उसले हाम्रो ३० वर्ष आयु बढाइ दिन्छ । अर्को म मधुमेहको मात्र बिरामी हुँ र मैले मधुमेह मात्र नियन्त्रण गरे पुग्छ भन्ने सोच त्यागेर आँखा, मिर्गाैला, मुटु, नसा र खुट्टा जोगाउन पनि विशेष चासो दिनुपर्छ । परिवारमा मधुमेहको बिरामी छन् भने आफू सचेत भएर समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । जो मोटो छ र उचाइअनुसारको तौल धेरै छ, बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा पनि धेरै भएमा, रक्तचाप, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा ६–६ महिनाको समयमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । यसबाहेक समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाच्ने बानी पनि बसाल्नुपर्छ । यसोगर्दा शारीरिक व्यायाम हुनुका साथै मानसिक तनाव पनि कम हुन्छ ।

सुगर भएको बेलामा धेरै ‘कार्बोहाइड्रेट’ खानेकुरा खानु हुँदैन भनिन्छ, यो कतिको साँचो हो ?

सुगर भएका बिरामीहरूले खाना खाएन भने सुगर नभएर मान्छेको ज्यान जान्छ भनेर बुझ्नुपर्छ । सुगर भएका व्यक्तिहरूले एउटा सामान्य स्वास्थ्य मानिसभन्दा पनि धेरै खानुपर्छ । सुगरको बिरामीलाई पटक–पटक भोक लाग्ने गर्छ । उनीहरूले कम्तिमा पनि दिनको ४ पटक– बिहान, दिउँसो र साँझको खाजा, खाना समयमै खानुपर्छ तर, हरेकपटक खाँदा खानेकुराको पोषक तत्त्वको अनुपात मिलाएर खाने गर्नुपर्छ । एउटा सानो ठिक्कको कचौरा लिएर त्यसमा एक कचौरा कर्बोहाइड्रेट खाजामा सातु, खानामा भात, दिउँसो एक मुठ्ठी चिउरा र राति ३ देखि ४ ओटा रोटी लिन सकिन्छ । त्यति नै बराबरको प्रोटिन (अण्डाको सेतो भाग, मासु, गेडागुडी वा दालको बाक्लो रस लिन सकिन्छ । त्यति नै बराबरको हरियो सागसब्जी, फलफूल दूध पनि हुनु पर्छ ।

afs

यसरी अनुपात मिलाएर खाने गर्दा प्रोटिन शरीरमा जम्मा हुन पाउँदैन । बिहान खाएको बेलुका सकिन्छ । शरीरलाई चाहिने एनेर्जी कर्बोहाईड्रेटले दियो भने त्यो शरीरमा स्टोर हुन पाउँदैन जसले गर्दा शरीरमा मोटोपन बढ्न पाउँदैन । त्यही भएर सुगर भएको बेला खाना खानुपर्छ, अरुभन्दा धेरै खानुपर्छ । भात खाँदा केही फरक पर्दैन तर सबैकुराको अनुपात मिलाएर खानु पर्छ । कार्बोहाइड्रेट कम खाएर त्यसको साटोमा प्रोटिन तथा हरियो साग सब्जीबाट पनि इनर्जी बढाउन सकिन्छ । सुगर तथा प्रेसरको बिरामीले बोसो वढाउने ‘कोलेस्टेरोल’ धेरै हुने खानेकुरा खानु हुँदैन । अन्डा खानुपरे पहेँलो भाग हटाएर सेतो भाग मात्र खानु उत्तम हुन्छ ।

अस्पताल गएर सुगर परीक्षण गराउन नसकेको खण्डमा बजारमा सजिलै किन्न पाइने ग्लुकोमिटर कतिको उपयोगी साबित हुन सक्छ ?

ग्लुकोमिटरबाट परीक्षण गरेर आएको नतिजा लगभग अनुमान लगाउन सक्ने मात्र हुन्छ । यदि बिरामी अस्पताल आउन सक्दैन भने ग्लुकोमिटरबाट नाप्न सकिन्छ । तर, ग्लुकोमिटरको एउटा दायरा हुने गर्छ । त्यसले एउटा रेन्जभन्दा तल वा माथिको देखाउन सक्दैन । हाई भए हाई र लो भए लोको संकेत मात्र देखाउँछ । खाली पेटको फास्टिङमा र खाना पछिको पीपीमा एक सयदेखि दुई सयको बीचमा छ भने रफ्ली कन्ट्रोलमा रहेको मान्न सकिन्छ । त्यतिको रेन्जमा देखाउँछ भने डाक्टरले दिएको औषधिको सेवन गरी ३ महिनामा फलो चेकअप गराउन आउनुपर्ने हुन्छ । तर, धेरै हाई देखाएमा र धेरै लो देखाएमा औषधि बन्द गरेर तुरुन्त डाक्टरकोमा गएर जाँच गर्नुपर्ने हुन्छ ।

सुगर कम भएको बेलामा मिठाइ तथा चकलेट खाने सल्लाह दिइन्छ, किन ?

अचानक सुगर घटेमा ५ देखि १० मिनेटमा बिरामीको ज्यान जान सक्ने पनि हुन्छ

सुगर बढ्यो भने घटाउनका लागि ३ देखि हप्ता दिनसम्म लाग्ने गर्छ । तर, सुगर घट्यो भने मिनेटमा हुन्छ । अचानक सुगर घटेमा ५ देखि १० मिनेटमा बिरामीको ज्यान जान सक्ने पनि हुन्छ । त्यही भएर सुगरको औषधि खाइरहेको बिरामीलाई सुगरको औषधि र इन्सुलिनले कुनैबेला सुगर स्वात्तै कम गर्छ । यसैले यस्ता बिरामीले आफ्नो गोजीमा चकलेट र चिनी बोक्ने गर्दछन् । अझ विदेशहरूमा त सुगर भएको छ भने लेखेर कार्ड पनि दिने गरिन्छ । केही भएर बेहोस् भएको खण्डमा कार्ड हेरेर सुगरको बिरामी रहेको थाहा पाएपछि चकलेट अथवा केही गुलियो खान दिइन्छ । सुगर अचानक घट्न सक्ने हुँदा एउटा चकलेट चाहिँ अनिवार्य गोजीमा बोकेर हिँड्दा राम्रो हुने गर्छ ।

प्रस्तुति : अंकिता ताम्राकार (विराटनगर)

Loading...