fbpx

होमस्टेलाई करको दायरामा ल्याउन पर्यटन मजदूरको माग

काठमाडौं, १० मंसिर । नेपालमा सञ्चालित सबै होमस्टेहरूलाई करको दायरामा ल्याउन पर्यटन क्षेत्रका मजदूरहरूले माग गरेका छन् । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभद्वारा मंगलबार काठमाडौंमा आयोजित सोसियल डाइलगमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउन माग गरेका हुन् ।

उनले बर्सेनि पर्यटकको आगमन बढ्ने तर पर्यटन क्षेत्रको आम्दानी घट्दोक्रममा देखिएकोले अब होमस्टेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालमा होमस्टेका नाममा होटल र लज व्यवसाय गर्नेहरू फस्टाउँदै गएकोले अब अनुगमन गरेर करको दायरामा ल्याउन सरकारले ढिलाइ गर्न हुँदैन भने ।

तलब नदिए अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराउने चेतावनी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै तुरुन्त समस्या समाधान नगरे एयरपोर्टलाई अन्तर्राष्ट्रियस्तरबाटै कालोसूचिमा राख्न लगाएर बन्द गराउनेसम्मको संघर्षमा उत्रन तयार रहेको मजदूरहरूले चेतावनी दिए यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले भने, ‘अब पनि व्यवस्थापकले बेलैमा बुझेन भने एयरपोर्ट बन्द हुनेछ ।’

टिम्सबाट उठाएको रकम श्रमिकको कल्याणकारी कोषमा दिनुपर्ने

नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)बापत पर्यटकबाट उठाइएको रकम मनोमानी ढंगले खर्च गरिरहेको भन्दै खबरदारी गर्न पनि माग गरिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल ‘टान’ का प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले पर्यटन बोर्डले टिम्सबापत उठाएको बोर्ड अन्तर्गतको सबै पैसा खर्च गरिसकेको तर पदयात्रा पूर्वाधार क्षेत्र र श्रमिकको कल्याणकारी कोषमा दिनुपर्ने रकम नदिएको भन्दै विरोधमा उत्रने चेतावनी दिए ।

भ्रमण वर्ष सफल पार्न पर्यटन श्रमिको माग पूरा गनुपर्छ

पर्यटन श्रमिकहरूले राष्ट्रिय निकुञ्जमा उठाइँदै आएको कर बन्द गर्न, एकल अनुमतिपत्र खारेज गर्न ट्रेकिङ क्षेत्रमा श्रमिकसँग उठाउँदै आएको कर बन्द गर्नकासाथै महिला पर्यटन श्रमिकमाथिको दुर्व्यवहार अन्त्य गर्नुपर्ने, आउटसोर्सिङ कम्पनीबाट श्रमिक लिने काम बन्द गर्नुपर्ने, भ्रमण वर्षका अवसरमा गठित सबै समितिमा श्रमिकको प्रतिनिधित्त्व गर्नुपर्नेलगायतका माग पनि पर्यटन क्षेत्रका मजदूरहरूले गरेका छन् ।

Loading...