चस्मालाई जोगाउने तरिका यस्ता छन्

विराटनगर, १० मंसिर । आँखाको समस्याका कारण, फेसनका कारण र धुलो तथा प्रदूषणबाट बच्नका लागि अधिकांशले चस्मा लगाउने गरेको पाइन्छ । तर, धेरैजसोले चस्मालाई सुरक्षित नराख्दा चाँडै भाँचिने, बिग्रिने तथा हराउने सम्भावना हुन्छ ।

धेरैजसो समय चस्मा साथमै हुने हुँदा यसको जतन गर्नु आवश्यक हुन्छ । चस्माको जतन गर्नका लागि केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चस्मा सफा गर्नका लागि नरम साबुन र हल्का तातो पानीको प्रयोग गर्न सकिन्छ । चस्माको लेन्स सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा हुने हुँदा यसलाई लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुपर्छ ।

चस्मा लगाउँदा र फुकाल्दा एकातिर मात्रै समातेर प्रयोग गरिने हुँदा अगाडिको फ्रेम र खुट्टा भाँचिन सम्भावना बढ्ने हुँदा चस्मालाई लगाउदा वा खोल्दा दुवै हातको प्रयोग गर्नु पर्छ । चस्माको लेन्स तिरको भाग कडा टेबल या भुइँमा राख्नु हुँदैन । यसो गर्दा लेन्स धमिलो हुन सक्छ । टाउको वा निधारमा चस्मा सारेर राख्ने गर्नाले फ्रेम खुकुलो हुन्छ र लगाए पछि खस्ने डर हुनुका साथै आकर्षक पनि नदेखिने हुने गर्छ ।

चस्मा सफा गर्ने चस्मा किन्दा दिएकै हुन्छ । उक्त चस्मासंग आएकै कपडाले चस्मा सधैँ सफा गर्नु पर्छ र कपडालाई पनि सफा गरेर राख्नु पर्छ । फोहोर कपडा वा अन्य कपडाको प्रयोगले चस्मा छिट्टै कोरिने सम्भावना हुन्छ । चस्माको लेन्स या फ्रेम अत्यधिक तापक्रममा खुइलिने तथा बिग्रने हुँदा चस्मा लगाएर तातो ठाउँ (आगोको छेउ छाउ) जानु हुँदैन । चस्मालाई प्रयोग गरिसकेपछि चस्माको डब्बामा राख्नुपर्छ ।

Loading...